गाई खोसेपछि रिसाएका कमल थापाले भने ‘अदालतमा सेटिङ’

गाई खोसेपछि रिसाएका कमल थापाले भने ‘अदालतमा सेटिङ’

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले सेटिङ मिलाएर चुनाव चिन्हसम्बन्धी फैसला गरेको आरोप लगाएका छन् । दुई महिनाअघि गाई चिन्ह खोज्दै दायर रिट सर्वोच्चले आज खारेज गरिदिएपछि उनले यस्तो आरोप लगाएका हुन् ।

अदालतको फैसलालाई दुर्भाग्यपूर्ण भनेका थापाले यसलाई संवैधानिक अंगहरुमा हुने चलखेल, दबाब र सेटिङको ज्वलन्त उदाहरण भनेर टिप्पणी गरेका छन् । सर्वोच्चको फैसलालगत्तै सामाजिक सञ्जालबाट प्रतिक्रिया दिएका उनले भनेका छन्, ‘अदालतको फैसला शिरोधार्य छ । तर,गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण छ । चुनाव चिन्ह रोज्न पाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भयो । चलखेल, दबाब र ’सेटिङ’ले कसरी संवैधानिक अंगहरुलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण हो यो फैसला ।’

थापाले प्रश्न गरे, ‘कुन कानुनमा टेकेर सर्वोच्च अदालतको आफ्नै दुई अन्तरिम आदेश उल्टाउने काम माननीय कुमार रेग्मी र माननीय तिलप्रसादको ईजलासले गर्यो, यसको जवाफ उहाँहरुले दिनुपर्नेछ । ओठे जवाफ दिन सकिएला, तर उहाँहरुको अन्तर्आत्माले उहाँहरुलाई जीवनभर पोलिरहने छ ।’

अदालत र निर्वाचन आयोगलाई चुनौती दिँदै उनले कुन कानुनले गाई चिन्ह नपाउने लेखेको छ ? भनेर सोधेका छन् । उनको थप प्रश्न छ, ‘दलले आफ्नो चिन्ह रोज्न÷परिवर्तन गर्न कुन कानुनले रोकेको छ ? देखाउनुहोस् । जनताले पनि हेरोस्,बुझोस् ।’

तथापि अदालतको फैसला मान्नु बाध्यता रहेकाले आफूले मान्ने थापाले बताए । आफूलाई गाई नदिने सर्वोच्चको फैसलालाई उनले देशमा एउटा बलियो राष्ट्रवादी, हिन्दूवादी शक्ति बन्न नदिन तथा सनातन धर्म, संस्कृति र परम्परा कमजोर बनाउन भइरहेको देशी विदेशी शक्तिहरुको सुनियोजित षड्यन्त्रअन्तर्गतकै एउटा कडी पनि भनेका छन् ।

राप्रपा महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजय व्यहोरेलगत्तै राप्रपा नेपाल गठन गरेर हिँडेका थापा आफ्नो पार्टीले चुनाव चिन्ह गाई पाउनुपर्ने अडानमा थिए । तर, निर्वाचन आयोगले उक्त चिन्ह नदिएपछि गत असार ३० गते उनले आयोगलाई विपक्षी बनाउँदै सर्वाेच्चमा रिट हालेका थिए ।

टिप्पणीहरू