आठ महिनादेखि तलब नपाएर भोकाएका पत्रकारहरु आन्दोलित
ललितपुरको जावलाखेलबाट प्रसारित कृषि टेलिभिजन र गोर्खा टेलिभिजनमा आबध्द श्रमजीवी पत्रकारहरुले लामो समयदेखि तलब नपाएको खुलेको छ । कृषि टेलिभिजन नेटवर्क प्रालि र साझा संसार मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित टेलिभिजनले आठ महिनादेखि पत्रकारलाई तलब दिने आश्वासन दिदैं झुलाएर राखेको पाइएको हो ।
टेलिभिजन प्रशासनले तीन महिनादेखि आठ महिनासम्मको पारिश्रमिक नदिएपछि पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । एउटै सञ्चालकको लगानी रहेको उक्त टेलिभिजनमा झण्डै दुई दर्जन कर्मचारी कार्यरत छन् ।
टेलिभिजनका साथै ललितपुरको प्रतिष्ठित समिट अस्पतालमा सञ्चालकसमेत रहेका तेजविक्रम थापा लामो समयदेखि सम्पर्कमा नआएको आन्दोलित कर्मचारीहरुले बताए । कार्यकारी निर्देशकसमेत रहेकी लक्ष्मी चौधरीलाई बारम्बार फोन गर्दा पनि सम्पर्कमा आउन नखोजेको उनीहरुको आरोप छ ।
सञ्चालक थापा र कार्यकारी निर्देशक चौधरी लामो समयदेखि कार्यालयमा उपस्थित नभएको एक कर्मचारीले बताइन् ।
पहिल्यैदेखि समयमा तलब नदिने, तलबको विषयमा कुरा गर्दा बेवास्ता गर्ने रवैया देखाउँदै आएको उनको भनाइ छ । सात महिनादेखि कर्मचारीलाई आश्वासन दिएर काम गर्न लगाएको तर पारिश्रमिक भने भुक्तानी नगरिदिएको ती कर्मचारी बताउँछिन् । वैशाखपछि जेठ गर्दै भदौ पुर्याउँदासमेत कसैले तलब पाउन नसकेको उनको गुनासो छ ।
उनले भनिन्,‘पहिले वैशाखमा सबै तलब भुक्तानी गरिदिने भन्नुभएको थियो । त्यसपछि असार मसान्तसम्मको समय तोक्नुभयो । त्यतिखेर पनि तलब नदिएपछि सबैले आन्दोलन गर्ने चेतावनी दिएका थियौं । उहाँले भदौ १५ गतेभित्र सबैको तलब भुक्तानी गरिदिने भनेपनि हाल सम्पर्क बाहिर हुनुहुन्छ । त्यसैले आन्दोलन गर्न बाध्य भएका हौं ।’
कर्मचारीहरुले हिजोदेखि औपचारिक आन्दोलन थालेका हुन् । आफूहरुले तलब नपाएमा सशक्त आन्दोलनमा जाने उनीहरुले चेतावनी दिएका छन् । साथै,सञ्चालक र कार्यकारी निर्देशकविरुध्द नेपाल पत्रकार महासंघ,श्रमजीवी पत्रकार संघ, नेपाल प्रेस काउन्सिल जाने घोषणासमेत गरिएको छ ।
टेलिभिजन प्रसारण भएपनि कर्मचारीहरुले एक हप्तादेखि नियमित कार्यक्रम भने ठप्प पारेका छन् । यता, टिभीका सञ्चालक थापा र कार्यकारी निर्देशक चौधरीसंग यस विषयमा जानकारी लिन खोज्दा उनीहरुले फोन उठाएनन् ।
टिप्पणीहरू