यी हुन उत्कृष्ट निजामती पुरस्कार पाउने दश कर्मचारी
नेपाल सरकारले १९औं निजामती सेवा दिवसको अवसरमा विभिन्न निकायका कर्मचारीहरुलाई उत्कृष्ट निजामती सेवा पुरस्कार दिएको छ । हिजो बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार आज उक्त पुरस्कार वितरण गरिएको हो ।
उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरूमा पदमकुमार श्रेष्ठ,दिपकप्रसाद खतिवडा,हरिप्रसाद ज्ञवाली,मुना शर्मा, प्रकाशराज पौडेल, शोभाखर रेग्मी,सन्तोष पौडेल सचिन्द्रकुमार यादव,रुकु शर्मा पौडेल र महंगु लोध छन् ।
पुरस्कृत हुने श्रेष्ठ आन्तरिक राजस्व विभागका निर्देशक हुन् भने खतिवडा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रहेका ज्ञवाली,कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयकी उपसचिव शर्मा र पाख्रीवास नगरपालिका धनकुटाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले पनि पुरस्कार पाएका छन् ।
त्यस्तै, गृह मन्त्रालयका उपसचिव शोभाखर रेग्मी,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव सन्तोष पौडेल,पर्यटन मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर यादव,लोकसेवा आयोगकी शाखा अधिकृत रुकु शर्मा पौडेल र कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीका सह लेखापाल लोध उत्कृष्ट निजामती सेवा पुरस्कारबाट पुरस्कृत भए ।
सरकारी निकायमा कार्यरत ३० जना अन्य कर्मचारीले पनि पुरस्कार प्राप्त गरेका छन ।
निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको छ ।

टिप्पणीहरू