एमालेद्वारा संसदमा कलाकार अपूर्व क्षितिजको रिहाइको माग
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रहरी थुनामा रहेका हास्य कलाकार अपूर्व क्षितिज सिंहको रिहाइको माग गरेको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले १० दिनदेखि प्रहरी हिरासतमा रहेका सिंहलाई रिहा गर्न माग गरेका हुन् ।
भट्टराईले भने, ‘कलाकार सिंहले हास्यकला प्रस्तुत गर्ने क्रममा कसैलाई मर्का पर्यो होला । शीर्ष नेताहरुले प्रज्ञा भवन र सभागृहमा बसेर हास्य कलाकारले आफूमाथि गरेको कडा व्यङ्ग्यहरू स्वीकार गरेका छन् । तर यस्तो हुँदा पनि कलाकार सिंहलाई १० औँ दिनदेखि थुनामा राख्नु गलत हो ।’
सिंहमाथि कुनै पनि प्रकारको अत्याचार नहोस् भन्दै भट्टराईले, ‘म उनको शीघ्र रिहाइको माग गर्छु । उनले आफ्नो प्रस्तुति हटाइसकेको र माफीसमेत मागेका छन् । यो अवस्थामा उहाँमाथि कुनै पनि अत्याचार नहोस्,’ भनेका छन् ।
सिंहलाई भदौ १२ गते जिल्ला प्रहरी कार्यालय काठमाडौँले पक्राउ गरेको थियो । नेवारी समुदायको आस्थामाथि सिंहको व्यङ्ग्यले चोट पुर्याएको भन्दै प्रहरीमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको थियो ।
टिप्पणीहरू