कताको बलात्कार,कताको यौन व्यवहार ?

कताको बलात्कार,कताको यौन व्यवहार ?

फौजदारी कानुनको विधि शास्त्रीय दृष्टिबाट हेर्दा जवर्जस्ती करणीको मागदावीसहित परेको मुद्धामा यौन दुरुपयोगको कसूरमाथि टेकेर सामान्यतया: सजाय सुनाइँदैन । यसको मतलव जुन अभियोगमा मुद्धा दर्ता भएको हो, त्यसैमा कसूर ठहर्छ वा अभियुक्तले सफाई पाउँछ । तर,प्राकृतिक न्यायको सिद्धान्त विपरित यसअघि पनि पटक-पटक रिट निवेदकले मागदावी नै नगरेको विषयमा निर्णय गर्दै आएको अदालतले जबर्जस्ती करणी अभियोगमा थुनामा रहेका अभिनेता पल शाहलाई बाल यौन दुरुपयोग गरेको कसूरमा अढाई वर्ष जेल सजाय सुनाएको छ ।

यस्तो फैसला गर्ने श्रीमान् हुन् -हालैमात्र न्याय परिषदबाट नवलपुर जिल्ला अदालतको कार्यभार सम्हालेका न्यायाधीश यज्ञप्रसाद आचार्य । पीडित र उनका बाबु (जाहेरीकर्ता) ‘होस्टाइल’ भएको यस मुद्दामा आचार्य श्रीमानको इजलासले बलात्कार अभियोगमा पललाई निर्दोष ठहर गर्दै बालयौन दुरुपयोगको अर्कै कसूर स्थापित गरेर हिजो सजाय तोकेपछि यसबारे कानुनी बहससमेत शुरु भएको छ ।

अभिनेता पलविरुद्ध एकैसाथ तनहुँ र नवलपुर अदालतमा बलात्कार अभियोगमा मुद्दा दर्ता भएको थियो । तर,उक्त कसूरमा भने अदालतले उनलाई निर्दोष ठहर गर्दै सफाई दियो । सम्भवत: पीडित र जाहेरवालाले नै बयान फेरेर घटना हुँदै नभएको बताएकाले अदालतले पललाई निर्दोष सावित गरेको हो । तर,जब मुद्धा जवर्जस्ती करणीको छ र पीडितले घटना झुठो भएको सावित बयान दिइसकेको छ भने बालयौन दुरुपयोगको कसूरमा टेकेर कसरी फैसला हुनसक्छ ?

जब मुद्धा जवर्जस्ती करणीको छ र पीडितले घटना झुठो भएको सावित बयान दिइसकेको छ भने बालयौन दुरुपयोगको कसूरमा टेकेर कसरी फैसला हुनसक्छ ?

‘करणीको मुद्धामै केन्द्रित भएर अदालतले करणी गरेको हो वा होइन ? यतिमै फैसला गर्नुपर्ने होइन र ?’, कानुनका जानकारहरु प्रश्न गर्छन् । जवर्जस्ती करणी प्रमाणित नहुने भएपछि अर्को कमजोरी खोजेर जेल कोच्न खोजेको त होइन भन्ने आशंका गर्नेलाई अदालतको निर्णयले ठाउँ दिएको छ । फौजदारी मुद्धामा बहस गर्दै आएका अधिवक्ता ऋषिराम घिमिरेका अनुसार जवर्जस्ती करणी मुद्दामा पीडितले बयान फेरेको अवस्थामा अभियुक्त स्वत: निर्दोष ठहरिन्छ ।

‘यदि कागज प्रमाणले बलात्कार गरेकै पुष्टि भए अभियुक्तलाई सोहीअनुसारको सजाय तोकिने हो । तर,जजक ठहरिंदैन भने सामान्यतया: यौन दुरुपयोगमा सजाय दिन मिल्दैन’, उनले भने, ‘थुप्रै यस्ता मुद्दामा अदालतले अर्को कसूर स्थापित गरेर फैसला गर्ने गरेको र त्यसलाई माथिल्लो अदालतबाट करेक्सन गराइएको उदाहरण पनि उनले सुनाए ।’ यस मुद्धामा पनि पल र सरकार दुवै पक्ष उच्च अदालत जानसक्ने र जिल्लाको फैसला करेक्सन हुने उनको बुझाइ छ ।

‘करणीको मुद्धामै केन्द्रित भएर अदालतले करणी गरेको हो वा होइन ? यतिमै फैसला गर्नुपर्ने होइन र ?’,

कतिपयले चैं अदालतले पीडित भनिएकी नाबालिकाको मनोविज्ञानसँग खेलबाड गरेको टिप्पणी गरेका छन् । किनभने बालिका सबैले चिनेकी चर्चित अनुहार हुन् । उनी स्वयमले आफूलाई विभिन्न संघसंस्थाले उचालेर मुद्धा हाल्न उकासेको बयान पनि दिएकी छन् । जो पीडित भनिएको हो उसले नै बलात्कार नभएको भनिसकेपछि अदालतले यौन दुरुपयोग गरेको कसरी प्रमाणित गर्यो ? यस्ता थुप्रै प्रश्न उठेको छ ।

पीडितले बयान फेरेको मुद्दामा त झन यस्तो फैसलाको कल्पनै नहुने अधिवक्ता घिमिरे बताउँछन् । पीडितले एन मौकामा गरेको कागजभन्दा पनि अदालतमा उभिएर दिएको बयानलाई बलियो प्रमाणका रुपमा लिइने उनको भनाइ छ ।

यौन दुरुपयोगको अभियोग पुष्टि हुन पनि अदालतले कागज प्रमाणलाई नै आधार मान्ने हो । बालबालिकासँग भावनात्मक अथवा पेशागत वा व्यावसायिक तथा अन्य सरोकार भएको व्यक्तिले अनुचित यौन क्रियाकलाप लाद्ने प्रयास वा कार्य गर्नुलाई बालयौन दुर्व्यवहार मानिन्छ । मुलुकी अपराध संहिता २०७४ का अनुसार कसैले करणीको आशयले बालबालिकालाई अस्वाभाविक रुपमा एकान्तमा लगेमा, यौनसम्बन्धी निजको अङ्ग छोएमा वा समातेमा,यौनसम्बन्धी आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको मानिने उल्लेख छ ।

यौनको इच्छा जाहेर गर्यो,शरीरमा छोयो या गलत नियतले हेर्यो भने यौन दुरुपयोग गरेको ठहरिन्छ तर, त्यस्तो इच्छा जाहेर गरेको पुष्टि भने कागज प्रमाणले गर्नुपर्ने हुन्छ । अभिनेता पलको मुद्धामा जवर्जस्ती करणी ठहर नभएपछि यौन इच्छा जाहेर गरेको कसरी पुष्टि भयो ? भन्ने प्रश्न उठेको हो ।

‘यो त चोरी मुद्धा हाल्ने, त्यसमा सफाई दिने अनि चोरेको चाहिँ रहेछ तर चोरेको जस्तो गरेर मान्छे झुक्याएको भन्दै ठगी मुद्धामा जेल सजाय तोकेजस्तो भएन र ?’, यो मुद्धालाई नजिकबाट हेरिरहेका एक कानुनकर्मीको प्रश्न छ । यस्ता घटनाले रिस उठ्यो कि आरोप लगाइदिने र नियोजितरुपमा फसाउने गलत प्रवृत्तिलाई बढावा दिने भएकाले अदालत पनि संवेदनशील हुनुपर्नेमा उनले जोड दिए ।

टिप्पणीहरू