रवि लामिछानेको बिश्वासघातमा अरु दुई प्रहरी तानिए
स्वतन्त्र पार्टीको अध्यक्ष बनेर हिँडेका टेलिभिजन टिप्पणीकार रवि लामिछाने फेरि अर्को विवादमा मुछिएका छन् । उनले राजधानीको मध्य भागस्थित एउटा प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवालाई खोरबाट निकालेर इन्स्पेक्टर विकास तामाङ्गको कोठाको सोफामा राखी अन्तर्वार्ता लिएपछि त्यहाँका प्रहरी निरीक्षक,सई र असईमाथि बिभागीय कार्वाही शुरु भएको छ ।
ताक परे तिवारी नत्र गोतामे भनेझैँ कहिले टीभी जक्की,कहिले अभियन्ता र कहिले राजनीतिज्ञ बनेर ठाउँअनुसार रवाफ देखाउने क्रममा उनले दरबारमार्गस्थित प्रहरी वृत्तमा पुगेर ड्युटीमा रहेका प्रहरीलाई थर्काई, तर्साई थुनुवालाई बाहिर ल्याएर सोफामा बसाएका थिए । त्यसपछि प्रहरी हिरासतदेखि विविध विषयमा अन्तर्वार्ता लिएको वृत्त स्रोतले बताएको छ ।
‘हाम्रा साथीहरुलाई तर्साउँदै आफूलाई ठूलो मान्छे पल्टेको देखाउँदै थुनुवालाई हिरासत कक्षबाट बाहिर ल्याएर सोफामा राखी अन्तर्वार्ता लिए,’ प्रहरी स्रोतको भनाइ छ । हिरासतमा रहेका मान्छेलाई सम्बन्धित प्रहरीले बाहेक अरुले त्यसरी सोधपुछ गर्न र वकिल-परिवारबाहेकले भेट्न पनि पाईंदैन । त्यो पनि प्रहरीलाई हप्काएर, उसैको सोफामा राखेर ।
एक जना उच्च प्रहरी अधिकृतले भने,‘फटाहा काम गर्दै हिँड्नेलाई के भन्नु । उसको गलत बानी ब्यहोराको शिकार हाम्रा कर्मचारी भएका छन् । अनुसन्धान र छानबिन गर्नै पर्यो । असई र सईलाई जिल्ला प्रहरी कार्यालय र इन्स्पेक्टरलाई उपत्यकामा तानिएको छ । आइन्दा वकिल र परिवारबाहेक कसैलाई पनि हिरासतमा पस्न खोजे भाटे कार्वाही गर्न निर्देशन दिइसकिएको छ ।’
टिप्पणीहरू