प्रचण्ड र अर्थमन्त्रीबीच हिजो जुहारी, आज कानेखुशी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न अर्थमन्त्री जनार्दन शर्मा आज बिहान खुमलटार जानुभएको छ । उहाँ अध्यक्षसँग भलाकुसारी गर्न बिहान ७ बजेको समयमा खुमलटार पुग्नुभएको हो ।
दुई जनाबीच झण्डै ५० मीनेट कुराकानी भएको अर्थमन्त्रीको निजी सचिवालयले पुष्टि गरेको छ । उहाँहरुबीच हिजो राजधानीमा आयोजित एक कार्यक्रममा जुहारी चलेको थियो ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा संगठन विभाग प्रमुख जनार्दन शर्माले आफू उपमहासचिव नभएको रहस्य खोल्नुभएको छ । पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको युवा फोर्स घोषणा कार्यक्रममा संगठन विभाग प्रमुख शर्माले उपमहासचिव पद अस्वीकार गर्दै आफू संगठन विभाग प्रमुख मात्रै भएको जानकारी दिनुभएको थियो ।
अर्थमन्त्री शर्माले महासचिव पदमा चर्को दाबी गर्दै आउनुभएको थियो । तर पार्टीभित्रको शक्ति सन्तुलनलाई व्यवस्थापन गर्न भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता देव गुरुङलाई महासचिवमा सिफारिस गर्नुभयो । अध्यक्षको उक्त निर्णयप्रति नेता शर्माले असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेख्नुभएको बताइन्छ ।
हिजो अध्यक्ष उपस्थित कार्यक्रममा आफू संगठन विभाग प्रमुखको हैसियतमा मात्रै बोल्न उभिएको बताउँदै शर्माले भन्नुभयो, ‘म नीति र नेतृत्व सही ढङ्गले चल्नुपर्छ भन्ने मान्छे हुँ । अध्यक्ष कमरेडको कडा आलोचक मै हुँ र रक्षा गर्ने पनि मै हुँ । म उहाँको कडा आलोचना र रक्षा दुबै गर्छु । आलोचनाले नेतृत्वको रक्षा हुन्छ,चाकडीले हुँदैन ।’
त्यसपछि बोल्नुभएका अध्यक्ष प्रचण्डले सांकेतिक रुपमा शर्मालाई बुझाउँदै भन्नुभयो, ‘जनार्दनलाई बनाएको मैले हो,अरुले होइन । अहिले उहाँ जहाँ हुनुहुन्छ त्यहाँ पुर्याउने पनि अरु कोही होइन ।’
टिप्पणीहरू