चिनियाँ पाहुना काठमाडौं ओर्लने बित्तिक्कै कता जाने,कसलाई भेट्ने ? (विस्तृत विवरणसहित)

चिनियाँ पाहुना काठमाडौं ओर्लने बित्तिक्कै कता जाने,कसलाई भेट्ने ? (विस्तृत विवरणसहित)

नेपालको चार दिने भ्रमणमा आगामी सोमवार दिउँसो काठमाडौं आउन लाग्नुभएका चिनियाँ राष्ट्रिय जनकाँग्रेसका अध्यक्ष लि चान्सुको भ्रमण तयारी अन्तिम अवस्थामा पुगेको छ । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा आउन लाग्नुभएका लिको भ्रमणवारे परराष्ट्र मन्त्रालय र संसद सचिवालयवीच समन्वय भइरहेको बताइएको छ ।

चिनियाँ टोली सोमवार दिउँसो साढे ३ बजे काठमाडौं आइपुग्दैछ । सरकारले विशेष महत्व दिएको उक्त भ्रमणमा नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति ठूलै संख्यामा परिचालन हुने बुझिएको छ । यसबीच सुरक्षा निकायले समेत आवश्यक तयारी थालेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

चार दिनमा अध्यक्ष लि दुई पटक संसद भवन नयाँ बानेश्वर पुग्ने कार्यक्रम तय भएको छ । २७ गते काठमाडौं विमानस्थलमा अवतरण गरेपछि चिनियाँ उच्चस्तरीय पाहुना टोली सोझै सोल्टी होटल जानेछ । उक्त होटेलका सबै कोठा आजैदेखि खाली गराइएको छ भने भान्छेहरुलाई क्वारेन्टाइनमा राखिसकिएको छ । पाहुनाको सेवामा चिसो चिज केही पनि सर्भ नगर्न उनीहरूलाई कडा उर्दी छ । सोल्टीमा केहीबेर आराम गरेपछि अध्यक्ष लि अपरान्ह पौने ५ बजे सभामुख सापकोटासँग शिष्टाचार भेटवार्ता गर्न संसद भवन नयाँ बानेश्वर पुग्नुहुने छ ।

त्यसैगरी संसद भवनभित्र आयोजना गरिएको एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डसङ्ग भेटघाट कार्यक्रममा सहभागी हुन भोलिपल्ट मंगलबार बिहान ९ बजे फेरि नयाँ बानेश्वर जाने कार्यक्रम तय भएको छ । सोही दिन दिउँसो ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ उच्चस्तरीय टोलीले बालुवाटारमा भेट गर्नेछ ।

२९ गते बुधवार बिहान ९ बजे भक्तपुर दरबार स्क्वायरको अवलोकन भ्रमण गर्ने तालिका तय गरिएको छ । दिउँसो साढे ३:३० बजे शीतल निवासमा चिनियाँ सभामुखले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुहुने छ ।

नेपालको भ्रमण पूरा गरेर चिनियाँ पाहुना टोली बिहिवार बिहान ९ बजे स्वदेश फर्कने संसद सचिवालय स्रोतले बताएको छ ।

टिप्पणीहरू