एसईईमा उत्कृष्ट अंक ल्याउने छात्र–छात्रालाई गाउँपालिकाको एक लाख पुरस्कार
खोटाङको केपिलासगढी गाउँपालिकाले उत्कृष्ट अंक ल्याएर एसईई उत्तीर्ण गरेका एक छात्र र एक छात्रालाई एक लाख रुपैयाँको पुरस्कार प्रदान गरेको छ । २०७८ को एसईई परीक्षामा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्येबाट सबैभन्दा बढी अंक ल्याएर उत्तीर्ण भएका दुई जनालाई नगद पुस्कार प्रदान गरिएको गाउँपालिकाका उपप्रमुख गुरुराज राईले जानकारी दिए ।
उनका अनुसार थर्पुडाँडा मावि सप्तेश्वरका छात्र रेडस्टार राई र पृथ्वी मावि बाक्सिलाकी छात्रा युनिसा राईलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको हो । उत्कृष्ट छात्र–छात्रालाई ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा हिजो गाउँपालिकाका प्रमुख समिर राई र उपप्रमुख गुरुराज राईले संयुक्तरूपमा पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका हुन् ।
गाउँपालिकाले चालु आर्थिक वर्षदेखि दुई विद्यार्थीलाई प्राविधिक विषय अध्ययनको निम्ति छात्रवृत्ति प्रदान गर्ने तयारीसमेत गरेको छ । त्यसैगरी १८ महिने प्राविधिक कोर्षका लागि छात्रवृत्ति प्रदान गर्ने तयारी गरिएको उपप्रमुख राईले जानकारी दिए ।
टिप्पणीहरू