अमेरिका पुगेका आईजीमाथि ऐया र आत्थो
एकातिर एउटा संवैधानिक आयोगको प्रमुखले राज्यका कुनै पनि अंगसँग समन्वय नगरी आफूखुशी २२ देशका पाहुना बोलाएको धमास दिँदै ५ जना अरेबियनलाई एयरपोर्टबाट टिप्छ । पाहुनामात्रै आउँदैनन्, सँगसँगै भीआइपीबाट अपराधी पनि छिर्छन् । बोलाउने मान्छेलाई पाहुनाको मतलब छैन, अपराधीलाई समात्यो भनेर उफ्री–पाफ्री शुरु हुन्छ !
मुस्लिम आयोगले संयुक्त अरब इमिरेट्स (युएई–दुबई) का उपाध्यक्ष मोहम्मद अहमद अल्माहीसहित विभिन्न ५ जना पाहुना बोलाउँदाको हैन, अपराधीको चर्चा भयो । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पाहुनाको खातिर गरेनन्, बरु अपराधीको पक्षमा प्रहरीलाई हप्कीदप्की नै गर्न थाले । तेरो जागिर खाइदिन्छु, म को हो चिनेको छस्, भन्दै डिएसपी कृष्ण चन्दलाई मात्रै थर्काएनन्, अमेरिकामा रहेका आइजीपी धिरजप्रताप सिंहलाई समेत कुरा लाउन भ्याए । जति सम्झाउँदा पनि पत्ता चलेन । धम्की पनि रोकिएन, अन्तिममा भिआइपीबाट छिरेर भागेका अपराधी समात्न जाने डिएसपीले अध्यक्ष समिमसमेतलाई भ्यानमा कोचेर लैजान थालेपछि बल्ल चूप लागे ।
गत शुक्रबार बिहान ठगी मुद्दाका फरार अभियुक्त रिजवान अन्सारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भागेर नागपोखरीस्थित होटल मेरियटबाट पक्राउ हुँदाको प्रसंग हो यो । मुस्लिम आयोगले बोलाएका भिआइपीहरुसँगै विमानबाट ओर्लिएका रिजवान त्यहाँ समातिन सकेनन् । होटल पुगेर रक्सी खाइरहेका उनलाई समात्न खोज्दा आयोगका अध्यक्ष समिम चर्काचर्कीमा उत्रिए । त्यसदिन विदेशी पाहुनासँगै मिसाएर रिजवानको पासपोर्ट अध्यागमनमा दिइयो । त्यहाँका कर्मचारीहरु सशंकित भएको थाहा पाउनासाथ विदेशी पाहुनालाई अर्को गाडीमा हालेर समिम हत्तपत्त रिजवानलाई साथ लिई त्यहाँबाट निस्किए ।
रिजवानले दाउद हुसेनकी छोरीलाई पाइलट बनाइदिन्छु भन्दै एक करोड ६८ लाख ठगी गरेका थिए । दाउदको जाहेरीका आधारमा मुद्दा अदालत पुग्यो । तर, रिजवान भागेर दुबई पुगेका थिए । प्रहरीले अनुसन्धानका क्रममा रिजवानको बाबुलाई समात्यो र चैत २७ गते रिजवानसहितका व्यक्तिउपर पक्राउ पुर्जी जारी भयो । रिजवान विदेशमा छन् भनेपछि अध्यागमनमा उनको अभिलेख राखियो । शुक्रबार उनै मोस्ट वान्टेड रिजवान भीआइपीबाट भागेको भनेपछि डिएसपी कृष्ण चन्दको टोलीले सिसिटिभी फुटेजको आधारमा समिमले लिएर गएको पत्ता लगायो । र, समात्न गयो मेरियट होटलमा । त्यहाँ विदेशी पाहुनाका बीचबाट समात्न नमिलेर प्रहरीले समिमलाई बुझाइदिन आग्रह गर्यो । समिमले ‘मेरो पावर यस्तो, उस्तो, २२ देशका भिआईपीको अगाडि नेपालको बेइज्जत हुन्छ’ भन्दै फुर्ती लगाए । अमेरिका गएका आइजी धीरजप्रताप सिंहलाई फोन लगाए ।
लगत्तै उपत्यका प्रहरी प्रमुख रविन्द्र धानुक, हेडक्वार्टरका एआइजी सहकुलबहादुर थापा, विमानस्थल सुरक्षागार्डका डिआइजी श्याम ज्ञवालीसम्मलाई थर्काए । मानौँ कि, आफैँ समातिँदैछु भनेझैँ तात्तिए । उनले रिजवान आइतबार आफैँ अदालतमा हाजिर हुन्छ भन्दै पक्राउ गर्न नदिने काम गरिरहेका थिए । ‘मेरो पावर थाहा छ ?’ भन्दै डिएसपी चन्दलाई धम्की दिन थाले । डिएसपीले ‘उसो भए तपाईं पनि यो गाडीमा चढ्नुस्’ भन्दै समिमलाई नै ताने । त्यसपछि चूप लागेका समिमले बल्ल रिजवानलाई रोक्न छाडे । यिनै समिमलाई ३ महिनाअगाडि जनकपुरको होटल घेरेर एमाले कार्यकर्ताले हात हाल्न खोज्दा प्रहरीले बचाएर काठमाडौंं पठाएको थियो भने आफ्नो पासपोर्टमा छापै नलाई डिआइजी रञ्जन कोइराला चीनबाट नेपाल छिरेर पत्नी गीता ढकालको हत्या गरेका थिए ।
त्यसदिन समिमले रिजवानलाई भिआइपी लाउञ्जबाट छिराउने र अदालतमा आफैँ हाजिर गराएर धरौटीमा छुटाउने सेटिङ मिलाएको प्रहरीको अनुमान छ । त्यसैले उनलाई सजिलो पार्नकै लागि विदेशी पाहुनाको साथमा नेपाल आउने व्यवस्था समिमले नै मिलाएका थिए । तर, कुरा बिग्रियो । प्रहरीले पक्राउ गरेपछि समिमले दाउद हुसेनको नाममा २५ र ६८ लाख डिपोजिट गरेको भौचर देखाए । यसअनुसार, फिर्ता गरेको रकम एक करोड पुग्यो । त्यसअघि पक्राउ परेपछि उनका बाबुले पनि पैसा दिएको हुनुपर्ने प्रहरीको अनुमान छ । तर, अदालतमा मुद्दा चलिसकेपछि ठगी भएको पैसा जरिवानामा परिणत हुन्छ र बिगो भराउनुपर्छ । पैसा तिरेको नाममा मुद्दाको प्रक्रियाबाट उन्मुक्ति मिल्दैन ।
यदि रिजवानले विमानस्थलमै सीधा हिसाबले हात उठाएका थिए भने केही दिन प्रहरी हिरासतमा बसेर अदालतबाट धरौटीमा छुट्न सक्थे । तर, विमानस्थलको सुरक्षा र अध्यागमन कानुनमाथि ठाडो चुनौति दिँदै त्यहाँबाट भागे । अस्ति ठगीमा त जेल गए नै अब ‘आपराधिक षड्यन्त्र’ शीर्षकको अलग्गै मुद्दा चल्ने भएको छ । उनीमाथि ठगीको पुरानो मुद्दासँगै अध्यागमन ऐनअनुसार अर्को मुद्दा पनि लाग्ने सम्भावना छ ।
टिप्पणीहरू