‘हेजिङ’ आफूले बुझेको, राष्ट्र बैंकका हाकिमहरुलाई पत्तो नभएको अर्थमन्त्रीको दाबी
अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक लगानीको विषयमा बारम्बार प्रयोग हुने हेजिङबारे मुलुकको केन्द्रीय बैंकका हाकिम र कर्मचारीहरुलाई केही थाहा नभएको बताउनुभएको छ । नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मन्त्री शर्माले उक्त आरोप लगाउनुभएको छ ।
पहिले ऊर्जामन्त्री भएको बेलामा मुलुकका ठूला परियोजनामा गरिने वैदेशिक लगानीको निम्ति हेजिङको आवश्यकता देखेपछि उक्त अडान लिँदै आएको उहाँको भनाइ छ । ‘तर त्यतिबेला मन्त्रीले देश बर्बाद बनायो भनेर आरोप लगाइयो । त्यसरी कुर्लनेमा त्यसबारे केही पनि थाहा नभएकाहरु बढी थिए,’ उहाँले उल्लेख गर्नुभयो ।
विदेशी लगानी भित्र्याउन हेजिङ आवश्यक रहेको बताइयो, नियमवाली बनाउने कुरो अघि बढ्यो तर राष्ट्र बैंकका ठूलाबडा र कर्मचारीलाई बुझाउन नसक्दा लामो समय लागेको उहाँको दाबी छ । ‘अहिले ठूलो लडाईं लडेपछि मन्त्रिपरिषद्बाट हेजिङसम्बन्धी नियमावली पास भएको छ,’ मन्त्री शर्माले जानकारी गराउनुभयो ।
मुलुकको जलविद्युत क्षेत्रमा सबैभन्दा बढी हेजिङको आवश्यकता रहेको तर जलविद्युत व्यवसायीहरु नै त्यसको विरोध भएको उल्लेख गर्दै मन्त्री शर्माले भन्नुभयो, ‘विदेशी लगानी भित्र्याउन हाम्रो वैदेशिक लगानीसम्बन्धी नीति निकै कसिलो छ । राष्ट्र बैंक, अर्थ मन्त्रालय र वन मन्त्रालयको नीति कसिलो भएकाले लगानी आउन सकेको छैन,’ उहाँको भनाइ छ ।
उहाँको थप भनाइ छ, ‘ऋण लिने तर मुलुकको उत्पादन नबढाउने, हाम्रो ढुंगा बिक्री गर्न नपाइने, काठ काट्न नपाइने, जडिबुटी बिक्री गर्न नमिल्ने, हाम्रो स्रोत प्रयोग गर्न नहुने । अनि विकास केबाट गर्ने ?’
मन्त्री शर्माले पहाड फोरेर ढुंगा चलाउन हुन्न भने के फोर्ने भनेर प्रतिप्रश्न गर्नुभएको छ । पहाड खनेर बिक्री गर्न नमिल्ने र काठ बिक्री गर्न नमिल्ने भएपछि विकास गर्न नसकिने उहाँको रोडम्याप छ । त्यस्ता स्रोतबाट पुँजी निर्माण सकिने अवस्था एकातिर र अर्कोतिर हेजिङको कुरा उठेकोलाई सबैले मनन गर्नुपर्ने उहाँको सुझाव छ ।
मन्त्रीले नेपाल इन्फास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआइडीसीएल) गभिन (मर्ज) नमानेको भन्दै आक्रोशपूर्ण टिप्पणी गर्नुभएको छ । सीईओ को बन्ने भन्ने तुषले उक्त मर्जर नभएको उहाँको बुझाइ छ ।
उहाँले नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषलगायत संस्थाले पूर्वाधारमा लगानी नगर्ने, ब्याज खाने गरेको आरोप लगाउँदै भन्नुभयो, ‘अब त्यस्ता संस्थामा रहेको रकम पूर्वाधारमा लगानी गरिनेछ ।’
मुलुकमा उत्पादित विद्युत बेच्नेभन्दा पनि प्रयोग गर्नमा जोड दिनुभएका मन्त्री शर्माले सो सम्बन्धमा ऊर्जामन्त्री पम्फा भुसाल र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति व्यङ्ग्य गर्नुभएको सहभागीहरुको बुझाइ छ । ‘विद्युत बेच्ने कुरामा गर्व गर्न आवश्यक छैन । अब विद्युत बेच्ने युग सकियो । विद्युतबाट हाइड्रोजन, एमोनिया बनाउने प्रविधि आएको छ । विश्व पाइभ जीमा पुगेको तर नेपालले टुजीको विकास मोडलको कुरा गरेको छ,’ अर्थमन्त्रीको भनाइ छ ।
टिप्पणीहरू