प्रचण्डको निर्वाचन क्षेत्रबाट प्रधानमन्त्रीको उद्धघोस : गठबन्धनविरुद्धको षड्यन्त्र चिरेर जान्छौँ
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सत्ता गठबन्धनविरुद्ध षड्यन्त्र भइरहेको बताउनु भएको छ । आज १०९औँ बिपी जयन्तीको अवसरमा चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गठबन्धन टुटाउने खेल भैरहेको दावी गर्नुभएको हो ।
प्रधानमन्त्री देउवाले कुनै हालतमा गठबन्धन नटुट्ने समेत प्रष्ट पार्नुभयो । ‘गठबन्धनको खिलाफमा ठूलो षड्यन्त्र भइरहेको छ, तर गठबन्धन कुनै हालतमा टुट्दैन’, भन्नुभयो, ‘गठबन्धनको विरोध गर्नु भनेको पार्टी सिद्ध्याउने षड्यन्त्र हो ।’
गठबन्धनको विरोध नगर्न उहाँले चितवनका कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो । ‘यो गठबन्धन केपी ओलीको सरकारबाट आत्तिएर कार्यकर्ताले हटाउनु पर्यो भनेपछि बाध्यताले बनेको हो, अहिले बिरोध गर्नु हुँदैन’, प्रधानमन्त्रीले प्रष्ट भन्नुभयो । पार्टीलाई फाइदा हुने गरी गठबन्धनमा सीट बाँडफाँट गरिने उहाँको भनाइ छ।
फरक प्रसंगमा प्रधानमन्त्री देउवाले एमसीसीकोको समर्थनमा धारणा पनि राख्नुभयो । ‘एमसीसी’ पास भयो भने अमेरिकी सेना नेपाल आउँछ भन्थे, खोइ त अमेरिकी सेना आएको ?’, उहाँले प्रश्न गर्नुभयो ।
सोही कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले पनि सत्ता गठबन्धन निर्वाचनमा जाँदा काँग्रेसका केही साथीहरूलाई मर्का पर्ने भएपनि स्वीकार गरेर जानुको विकल्प नभएको बताउनु भयो ।
काँग्रेसमा शेखर कोइराला समूहको अडानले सीट भागबण्डामा सकस परेको चर्चाका बीच सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवन पुगेर प्रधानमन्त्री देउवाले गठबन्धविरुद्ध षड्यन्त्र भैरहेको बताउनुलाई चासोका साथ हेरिएको छ ।
टिप्पणीहरू