सभामुखको बाटोमा बस्नेतसँगै भतिज पनि तगारो
२०७० सालको निर्वाचनमा तत्कालीन नेकपा एकीकृत माओवादीले देशैभर पराजय व्यहोर्दा सिन्धुपाल्चोकबाट सभामुख अग्निप्रसाद सापकोटाले लगातार दोस्रो पटक जित्नुभयो । २०६४ यताका सबै निर्वाचनमा प्रतिस्पर्धा गरेर जितको ‘ह्याट्रिक’ गरिसक्नुभएका उहाँ यसपटक पनि उम्मेदवार बन्ने दौडमा हुनुहुन्छ । माओवादी केन्द्र सिन्धुपाल्चोकले उहाँको नाम पहिलो नम्बरमा राखेर प्रदेश कमिटीमा पठाइसकेको छ । तर,लगातार चौथो पटक जित्ने सापकोटाको चाहनामा दुई पात्र बाधक हुँदा टिकट पाउनै महाभारत पर्ने अवस्था बनेको बताइन्छ ।
सत्ता गठबन्धनका दलहरुले सीट भागबण्डा गर्दा यसअघि जितेको क्षेत्र सम्बन्धित पार्टीले नै लिएर एमालेले जितेको ठाउँमा ६० प्रतिशत काँग्रेसले र ४० प्रतिशत अन्य दलले लिने मोटामोटी सहमति गरेका छन् । तर, सीट बाँडफाँडको यो मोडालिटीले अघिल्लो चुनावमा प्रत्यक्षतर्फ जम्मा २३ सीट जितेको नेपाली काँग्रेसका केही ठूला नेता चुनावी प्रतिस्पर्धाबाट बाहिरिनुपर्ने भएपछि भागबण्डा मिलाउन सकस परिरहेको छ । तीमध्ये यसअघि सभामुख सापकोटाले जितेको सिन्धुपाल्चोक–१ पनि हो । जहाँ पूर्वमन्त्रीसमेत रहेका काँग्रेस नेता मोहन बस्नेतसम्मले कुनै हालतमा नछाड्ने अड्डी कसेका छन् ।
उम्मेदवार सिफारिसमै सर्वसम्मत हुन नसकेपछि सभामुख सापकोटाले सजिलै टिकट पाउने सम्भावना नरहेको माओवादी वृत्तमा चर्चा छ । सभामुखसँगै उहाँका भतिज माधव सापकोटा ‘सुबोध’ को नाम पनि सिफारिसमा परेको छ । टिकटका लागि सुबोधले अन्तिमसम्म दाबी नछाडेपछि सभामुखको नाम सर्वसम्मत सिफारिस हुन नसकेको बताइन्छ ।
पटक–पटक मन्त्री र सभामुख भएर पनि जिल्लामा सिन्को नभाँचेको आरोप खेप्दै आउनुभएका सापकोटालाई कम्युनिष्टको नामै सुन्न नचाहने ‘रुढिवादी नेता’ बस्नेतलाई चित्त बुझाउनु पर्ने चुनौती त थियो नै । सँगसँगै भतिजसमेत बाधक बनेर आएपछि थप तनावमा पर्नुभएको निकटस्थहरु बताउँछन् ।
काकाको नाउँमा यसपटक पनि सति जान नसक्ने प्रष्ट बताइसकेका सुबोध कुनै हालतमा नछाड्ने गरी अघि बढेको सिन्धुपाल्चोकका एक माओवादी नेताले नाम नलेख्ने शर्तमा सुनाए । ‘तीन पटक जितिसक्नु भयो, अब युवालाई चान्स दिएर उहाँ समानुपातिकमा बस्नु भयो भने राम्रो हुन्छ’,सुबोध निकट ती नेताले भने । त्यसो त सिन्धुपाल्चोकमा सापकोटा परिवारले मात्र अवसरमा एकलौटी गरेको गुनासो पनि स्थानीय माओवादी नेता–कार्यकर्ताले गर्ने गरेका छन् । त्यसकारण सभामुखले यसपटक आफ्नै अगुवाइमा नयाँ र युवालाई अघि सार्नुपर्ने आवाज पनि उठिरहेको छ । ‘उहाँ समानुपातिकमा बसेर संरक्षकको भूमिकामा रहे हुने हो, तर खै हामीले भनेको कसले सुन्छ र !’, एक कार्यकर्ताले भने ।
तर, सभामुख सापकोटाको चाहनाअनुसार नै जिल्लाले उहाँको नाम प्रत्यक्षमा सिफारिस गरिसकेकाले यसपटक पनि उहाँ नै उम्मेदवार हुने संकेत आइसकेको छ । हुन त अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विश्वासपात्र सभामुख सापकोटाबाट खोसेर अर्काले टिकट पाउने सम्भावना यसै पनि छैन भनिन्छ । तर,पार्टीभित्रै सर्वसम्मत हुन नसक्दा मोहन बस्नेतको चुनौती सामना गरेर चुनाव जित्न भने कठिन हुने देखिन्छ ।
गठबन्धन भए पनि नभए पनि सिन्धुपाल्चोक–१ कुनै हालतमा नछाड्ने बस्नेतको अडान छ । सभापति शेरबहादुर देउवा निकट उनी आफ्नो उम्मेदवारीको सन्दर्भमा कसैलाई पनि सुन्ने पक्षमा छैनन् । काँग्रेस केन्द्रीय समिति बैठकमै देउवाको सामुन्ने भनेका थिए– देशभर गठबन्धन गर्नुस् तर, सिन्धुपाल्चोकमा म अरुलाई छोड्दिन । सभामुख सापकोटालाई जिताउन आफूलाई बलीको बोका नबनाउन उनले देउवालाई चेतावनीपूर्ण आग्रह गरिसकेका छन् ।
गठबन्धनको नाउँमा पार्टीले टिकट नदिए स्वतन्त्र उठ्ने बस्नेतले सार्वजनिक रुपमै चेतावनी दिइसकेका छन् । आफूलाई समानुपातिकमा राखेर सभामुख सापकोटालाई गठवन्धनको साझा उम्मेदवार बनाउने चलखेल भएको भन्दै बस्नेतले आफू समर्थक कार्यकर्तामार्फत सामाजिक सञ्जालबाट पार्टी केन्द्र र सभापति देउवामाथि दबाब बढाइ रहेका छन् ।
सापकोटा र बस्नेत कसले टिकट हात पार्ला त्यो गठबन्धनको निर्णयले निधो गर्छ नै । तर, सिन्धुपाल्चोक–१ माओवादीको भागमा परे पनि सापकोटाका लागि भतिजको चित्त बुझाउनुपर्ने अर्को तनाव छ । जनयुध्दकालदेखि नै साथ दिएका सुबोधलाई मनाउन नसके चुनावी परिणाम आफ्नो पक्षमा पार्न सभामुखलाई कठिन त छँदैछ साथै यहि विषयलाई लिएर सापकोटा परिवारमा कलह हुनसक्ने अड्कलसमेत सिन्धुका माओवादी नेता–कार्यकर्ताले गर्न थालेका छन् ।
टिप्पणीहरू