पहाड र मधेसका कुन कुन ठाउँमा कुरा मिलेन ?
एक महिनादेखि निरन्तर बस्दै आएको सत्तारुढ गठबन्धनको सीट बाँडफाड कार्यदलले अन्ततः अपुरो प्रतिवेदन बुझाएको छ । हिजो बसेको कार्यदल बैठकले शीर्ष तहका नेताहरुलाई आगामी निर्वाचनमा हुने गठबन्धनबारे उक्त अपुरो प्रतिवेदन बुझाएको बताइन्छ ।
अस्ति र हिजो निकै रस्साकस्सी भएको बैठकमा मूलतः सबैले भ्याट जोडेर मागदाबी नछाडेपछि प्रतिवेदन अपुरो भएको हो । आज दिउँसो ४ बजे बालुवाटारमा बस्ने शीर्ष नेताहरुको बैठकले सीट बाँडफाँड टुंगो लगाउने सम्भावना छ । काँग्रेस बाहेक दल र तिनका प्रतिनिधिले सहमति नभए सत्ता गठबन्धनभित्र विभिन्न विकल्प अघि सार्न सक्ने बताइन्छ ।
काँग्रेस प्रतिनिधिहरुले एकोहोरो दाबीलाई कम नगरेपछि उक्त अवस्था आएको माओवादीलगायत अन्य दलका सहभागीले बताए । एक सय ६५ मध्ये ९० वटामा एक अर्काको दाबी नरहे पनि बाँकी ७५ सीटमा रस्साकस्सी भएको छ । सहमति भएका ९० मध्ये ६० काँग्रेसको,जसपाको आठ,एकीकृत समाजवादीको आठ र माओवादीको १२ सीट छ । सत्ता गठबन्धनमा सहभागी जनमोर्चाको निम्ति दुई सीटमा सहमति हुने देखिन्छ ।
जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिले कार्यदलको पछिल्लो दुई वटा बैठकमा समेत १ नम्बर र मधेश प्रदेशका निर्वाचन क्षेत्रमा बढी चासो देखाएका थिए । त्यहाँको संख्याबारे नटुंगिएको र सबैले दावी गरेपछि कार्यदल बैठकमा गाँठो परेको हो । खासगरी ती दुबै प्रदेशमा काँग्रेस र जसपाको मुख्य दाबी रहेको पाइएको छ ।
‘१ नम्बर प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा समेत काँग्रेसको दाबी बढी देखियो,’ माओवादीका एक जना नेताले भने । १ नम्बर र मधेश प्रदेशमा काँग्रेस र जसपाको दाबी टुंग्याउने काम अब शीर्ष नेताहरुको जिम्मामा पुगेको छ ।
हिजो र अस्ति बालुवाटारमा बसेको गठबन्धनकमो कार्यदल बैठकमा टुंगिएको क्षेत्र सहमतिमा गर्ने,बाँकी ठाउँमा फरक ढंगको सहमति गर्ने र आवश्यकताअनुसार ती क्षेत्रमा गठबन्धन नै नयाँ ढंगको हुनसक्ने आशयको कुरासमेत बाहिरिएको थियो । माओवादी र जसपा नेताहरुका अनुसार काँग्रेसको हठले समस्या बढेको हो । उनीहरुले भने,”अरुको अस्तित्व नस्वीकार्ने काँग्रेसी व्यवहार ठूलो समस्या बन्यो । हिजोको निर्वाचनमा अरुले जितेको ठाउँमासमेत काँग्रेसको हठ कायम छ ।’
०७४ मा मधेशबाट काँग्रेसले जितेको जम्मा छ सीट थियो । त्यहाँ जसपाको काँग्रेसभन्दा दोब्बर अर्थात् १२ सीट हो । अहिले कार्यदलको बैठकमा काँग्रेसले झण्डै तेब्बर अर्थात् १६ सीटमा अत्तो थापेपछि विवाद अड्केको बताइन्छ । काँग्रेस प्रतिनिधिहरुको रवैयाप्रति जसपाका नेताहरु भन्छन्, ‘विगतमा जितेको ठाउँको मात्र कुरा गर्ने र सहमति गर्ने हो भने गठबन्धन किन ?’
हिजोसम्म धनकुुटा, मोरंग ५,सुनसरी १, सुनसरी ४ र खोटाङको विषयमा समाधान निस्कने कुनै लक्षण देखिएको छैन । अन्य केही निर्वाचन क्षेत्रमा पनि काँग्रेसले हलो अड्काएको गठबन्धनमा रहेका अन्य दलका प्रतिनिधिको बुझाइ छ ।
टिप्पणीहरू