गठबन्धनविरुद्ध नबोल्न काँग्रेस सभापति तथा प्रधानमन्त्रीको कडा निर्देशन

गठबन्धनविरुद्ध नबोल्न काँग्रेस सभापति तथा प्रधानमन्त्रीको कडा निर्देशन

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन टुटाउन अनेक षड्यन्त्र भइरहेको रहस्य खोल्नुभएको छ । उहाँले पछिल्लो एक वर्षमा आफ्नो पार्टी बलियो हुन थालेकाले यसलाई सिध्याउन पार्टीभित्र र बाहिर दुबैतिरबाट चौतर्फी आक्रमण भएको बताउनुभएको छ ।

हिजो राजधानीमा बोल्दै उहाँले भन्नुभयो, ‘काँग्रेसले काँग्रेस सिध्याउँदा के हुन्छ ? त्यसैले सत्ता गठबन्धनविरुद्ध अनावश्यक टिकाटिप्पणी नगरियोस् ।’

उता कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दमौलीमा आयोजित कार्यक्रममा वर्तमान गठबन्धन काँग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको सिद्धान्तअनुरुप अघि बढेको दाबी गर्नुभएको छ । उहाँले १०९औँ विपी जयन्ती तथा जनताका साथमा कांग्रेस अभियानको पहिलो चरणको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धन सरकारविरुद्ध काँग्रेस जानुको कुनै अर्थ नरहेको बताउनुभएको छ ।

त्यसैगरी कांग्रेसका उपसभापति एवम् प्रशिक्षण विभाग प्रमुख पूर्णबहादुर खड्काले आगामी चुनावमा गठबन्धनसहित जानुको विकल्प नभएको बताउनुभएको छ । उहाँले हिजो भक्तपुरमा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै तर गठबन्धन दलहरुबीच सिट बाँडफाँडको टुङ्गो नलागेकाले अनेकथरी टिप्पणी भएको दाबी गर्नुभएको छ ।

टिप्पणीहरू