पाल्हीनन्दन गाउँपालिकामा उपाध्यक्षलाई छाडेर वडाध्यक्षलाई कार्यवाहक
ऋषि भट्टराई
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले आफ्ना विश्वासपात्र वडाध्यक्षलाई कार्यावाहक अध्यक्षको जिम्मेवारी दिएका छन् । आफ्नै व्यवसायिक साझेदारलाई लागुऔषधको झुठो मुद्दामा फसाएको आरोप लागेपछि गुप्ता तीन सातादेखि फरार छन् ।
उनले अनौठो ढंगले उपाध्यक्षलाई बेवास्ता गर्दै वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएपछि गाँउपालिकाभित्र चर्को आलोचना भएको छ । आफ्नो अनुपस्थितिमा कार्यवाहक अध्यक्षको जिम्मेवारी वडा नम्बर १ का अध्यक्ष चुल्हाईप्रसाद यादवलाई दिएका छन् । उक्त कार्यको उपाध्यक्ष फातुमा खातुन अन्सारीले आपत्ति जनाएकी छन् ।
खातुनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिका अध्यक्ष लगातार एक सातासम्म कार्यालयमा अनुपस्थित भएमा स्वतः उपाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने उल्लेख छ । तर बहुमतको नाममा कार्यपालिका बैठकले वडा अध्यक्ष यादवलाई कार्यवाहकको जिम्मेवारी दिएको भन्दै उनले आपत्ति जनाएकी हुन् ।
गत आइतबार बसेको कार्यपालिकाको बैठकमा बहुमत सदस्यले वडाध्यक्ष यादवलाई कार्यवाहक गाउँपालिका अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ । तर बैठकमा फरक मत राखेर उपाध्यक्ष खातुनले विरोध जनाउँदी नोट अफ डिसेन्ट लेखेको बताइन्छ ।
कार्यवाहक अध्यक्षको विषयमा विवाद उत्पन्न भएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले कार्यपालिकाले गरेको निर्णयलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको बताए । ‘कार्यपालिकाले गरेको निर्णय मन्त्रालयमा पठाइएकाले मन्त्रालयले जे निर्णय गरेर पठाउँछ गाउँपालिका अध्यक्ष उपस्थित नहुँदासम्म सोही अनुसार काम अगाडि बढ्नेछ,’ गौतमले भने ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्तारूढ पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रका बैजुप्रसाद गुप्ता गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । भागबण्डाबाट उपाध्यक्षमा नेपाली कांग्रेसकी फातुमा खातुन अन्सारी निर्वाचित भइन् । छ जना वडाध्यक्षमा तीन माओवादी केन्द्र, दुई नेपाली कांग्रेस र एक जना लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका हुन् । त्यस्तै कार्यपालिका सदस्यमा भने जनता समाजवादीबाट एक जना र बाँकी छ जना माओवादी केन्द्रबाट निर्वाचित भएका छन् ।
टिप्पणीहरू