अष्ट्रियाका निम्ति नेपाली राजदूतले सात ठाउँमा प्रमाणपत्र बुझाउँदै
अष्ट्रियाका लागि नेपाली राजदूतले सात वटा मुलुक तथा निकायमा ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुपर्ने चलन छ । राजधानी भियनामा आवासीय राजदूत भए पनि कतिपय मुलुकमा गैरआवासीय र राष्ट्रसंघीय एजेन्सीहरुमा प्रतिनिधिको रुपमा ओहोदाको प्रमाणपत्र बुझाउनुपर्ने अवस्था रहेको हो ।
सोही क्रममा नवनियुक्त राजदूत भरत रेग्मीले अस्ति शुक्रवार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का प्रमुखसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ । यसवीच त्यहाँका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाइसकिएको छ भने आगामी बुध र बिहिवार संयुक्त रास्ट्रसंघका महासचिवको प्रतिनिधि र अन्य एक एजेन्सीसमक्ष प्रमाणपत्र बुझाउने कार्यक्रम छ । युनिडो अर्थात् राष्ट्रसंघीय औद्योगिक विकास संगठनसमक्ष पनि प्रमाणपत्र बुझाउनुपर्ने अवस्था रहेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । सोही क्रममा आणविक निरस्त्रीकरणसम्बन्धी राष्ट्रसंघीय कार्यालयमा पनि प्रमाणपत्र बुझाइएको छ ।
यसैबीच आईएईएका प्रमुखसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि त्यसका प्रमुख राफेल मारिनोग्रोसीले नेपालले आणविक विज्ञानलाई मानव स्वास्थ्य,वातावरण र खाद्य सुरक्षामा प्रयोग गर्न सक्ने बताएका छन् । प्रमुख राफेलले उक्त कार्यमा एजेन्सीले नेपाललाई सहयोग गर्ने वचनसमेत दिएका छन् ।
राजदूत रेग्मीलाई स्वागत गर्दै उनले भने, ‘नेपालसँग रहेको आपसी सहयोगलाई अझ मजबुत बनाउन आईर्ईए तयार छ ।’
राजदूत रेग्मी परराष्ट्र मन्त्रालयका सहसचिव हुनुहुन्छ । एनआरएन मामिलादेखि मन्त्रालयको नीति निर्माण तहमा रहेर काम गरेका थोरैमध्ये रेग्मी एक जना हुनुहुन्छ । यसअघि उहाँसँग नयाँ दिल्ली र दक्षिण अफ्रिकामा झण्डै दुई वर्ष कार्यवाहक राजदूत भएर काम गरेको अनुभवसमेत छ ।
टिप्पणीहरू