राष्ट्रिय शोकमा अष्ट्रेलियाका लागि नेपाली राजदूत प्रमुख अतिथि, नौटंकीको आरोप

राष्ट्रिय शोकमा अष्ट्रेलियाका लागि नेपाली राजदूत प्रमुख अतिथि, नौटंकीको आरोप

बेलायतलगायत विश्वका १४ वटा कमनवेल्थ मुलुकमा हिजोदेखि राष्ट्रिय शोक मनाइएको छ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनका कारण विश्वका अधिकांश मुुलुकले शोकको घोषणा गरेका छन् ।

यता नेपाल सरकारले पनि आजदेखि तीन दिनसम्म मुलुकभित्र र बाहिरका नियोगहरुमा शोक मनाउँदै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय हिजै गरेको छ । यसबीचमा कुनै पनि औपचारिक कार्यक्रममा सरकारी सहभागिता नहुने, आयोजना गर्न लागिएको कार्यक्रममा रोक लगाइएको बताइएको छ ।

तर अष्ट्रेलियामा आज नेपाली राजदूत कैलाश पोखरेल स्वयम्ले नेपालको सरकारी निर्णयलाई लत्याएका छन् । उनले अष्ट्रेलियाको शोक मनाइएको घोषणाको पनि उल्लंघन गरेका हुन् । पोखरेल आज अष्ट्रेलियामा आयोजित कार्यक्रममा प्रमुख अतिथि बनेका छन् ।

मेलबर्नमा आज नेपाल फेस्टिबल मनाइयो । तर, अष्ट्रेलिया स्वयम्ले घोषणा गरेको राष्ट्रिय शोकको अवस्थामा आयोजित कार्यक्रमलाई रोक नलगाइएको भन्दै नेपाली, नेपाली समुदाय र अन्य धेरै समुदायले सामाजिक सञ्जालमा चर्को आलोचना गरेका हुन् । त्यहाँ भव्य मार्चपाससहित विभिन्न साँंस्कृतिक कार्यक्रम र झाँकीसहित फेस्टिबल मनाइएको हो ।

त्यहाँको एनआरएनले राज्यस्तरको कार्यक्रम गरेको बताइएको छ । तर, अष्ट्रेलिया स्वयम् र नेपालले नै राष्ट्रिय शोक मनाइरहँदा राजदूत स्वयम्को उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिनुलाई धेरैले अचम्म मानेका छन् ।

राजदूत पोखरेलले पर्यटन र नेपाल प्रवद्र्धनको नाममा देखाएको सहभागितालाई धेरैले खिसिटियूरी गरेका छन् । बेलायतकी महारानीको निधनमा आफ्नै देश र अष्ट्रेलियासमेतले शोक घोषषा गरेको अवस्थामा पोखरेलको सहभागितालाई नौटंकीको विशेषण भिराइएको छ । सामाजिक सञ्जालमा एनआरएन अष्ट्रेलिया र एनआरएन भिक्टोरिया राज्यको पनि चर्को विरोध गरिएको छ ।

टिप्पणीहरू