हिमानी र पारस दिउँसो सँगै, राति छुट्टा छुट्टै
हिमानी ट्रष्टकी अध्यक्ष तथा पूर्व युवराज्ञी हिमानी शाह श्रीमान पारस र छोरी कृतिकासहित हिजो लमजुङको सदरमुकाम बेशीसहर पुग्नुभयो । कार्यक्रममा आसन ग्रहणका लागि प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र स्थानीय सरकारका प्रमुखलाई पनि कार्यक्रम सञ्चालकले उद्घोषण गरिन् । तर जिल्ला शिक्षा समन्वय इकाई लमजुङका प्रमुख वीरबहादुर गुरुङ बाहेक कुनै सरकारी अड्डाका कर्मचारीको उपस्थिति थिएन ।
सरकारी अधिकारीहरुको उपस्थिति नभए पनि मनाङे चौतारा तमु आमा समूहले शाह परिवारको भव्य स्वागत गरेको थियो । पारस, हिमानी र कान्छी छोरी कृतिका सहित हिमानी ट्रष्टका केही पदाधिकारी र चाइना फाउण्डेशनको टोली अस्ति दिउँसै लमजुङ पुगेको थियो । हिमानी र छोरी नेपाली काँग्रेस लमजुङका युवा नेता भेषबहादुर पौडेलको गेट वे रिसोर्टमा बसे पनि पारस भने भोटेओडारमा बसेको बताइन्छ ।
हिमानी, पारस र छोरीसहितको टोली आउने खबर जिल्ला प्रहरी कार्यालयलाई कोषका कोअर्डिनेटर हेमन्त दाहालले खबर गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । आयोजकहरुले विप्लव माओवादीले अवरोध गर्नसक्ने आशंका गरेका थिए ।

चाइना फाउण्डेशनको सहयोगमा लमजुङका तीन गाउँपालिका दोर्दी, दुधपोखरी र मस्र्याङ्दीअन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक समाग्री वितरण गर्न तामझामसहित हिमानीलाई लिएर लमजुङ पुगेको चाइना फाउन्डेसनका पदाधिकारीले हिजो ती पालिकाका ९७ विद्यालयका प्राथमिकका १४ सय ६९ छात्र र १४ सय ६३ छात्रा गरी दुई हजार नौ सय ३२ बालवालिकालाई शैक्षिक सामाग्री वितरण गरेका थिए ।
सो अवसरमा दोर्दी गाउँपालिकाका एक शिक्षकले विभिन्न उपमा दिँदै व्यंग्य गरेका थिए । चिनियाँ झोला, चार वटा कापी, प्लास्टिकको पानी पिउने बोतल, प्लास्टिक कै टिफिन, एउटा ब्रस र मञ्जन झोलामा हालिएको थियो ।
‘एनजीओ आइएनजीओको व्यापार यस्तै हो,’ शिक्षक ऋषि अधिकारीको भनाइ थियो । हिजो तमु आमा समूह बेसीशहरको भवनमा पूर्व युवराज्ञी हिमानीले ती सामाग्री वितरण गरेर लमजुङ कै पूर्वी क्षेत्र दोर्दी पुगेर उक्त टोली अबेर गोर्खा लागेको थियो ।

अञ्जनकुमार ।
टिप्पणीहरू