जंगी अड्डामा प्रधान सेनापतिको सम्बोधन, सैन्य युनिट सबैमा लाइभ प्रशारण
प्रधान सेनापति प्रभुराम शर्माले जंगी अड्डामा नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गर्नुभएको छ । उहाँले आफ्नो कार्यकाल एक वर्ष पूरा भएको उपलक्ष्यमा आज विशेष कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
उपत्यका भित्रका रथी, अधिकृत, पदिक तथा अन्य दर्जा सहभागी कार्यक्रमलाई नेपाली सेनाका सम्पूर्ण फर्मेशन, युनिट तथा सब–युनिटहरुमा लाइभ मल्टिकाष्ट गरिएको छ । सो अवसरमा उहाँले सैन्य प्राथमिकताका क्षेत्रमा जोड दिँदै आगामी कार्यदिशाका बारेमा जानकारी गराउनु भएको छ ।
प्रधानसेनापति शर्माले हाल विकसित अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण गर्दै नेपाली सेनालाई प्राप्त संवैधानिक जिम्मेवारीको उत्कृष्ट निर्वाह गरिएको दाबी गर्नुभयो । राष्ट्रिय हितको संरक्षण तथा प्रवद्र्धनका लागि सदैव तयारी अवस्थामा रहन मातहतका सबैलाई निर्देशनसमेत दिनुभएको छ ।
उहाँले सबैको सामूहिक प्रयासबाट नेपाली सेनाको सुदृढीकरण तथा सबलीकरण हुने उल्लेख गर्दै भन्नुभयो, ‘यसबाट मात्रै समयानुकूल व्यवसायीकरण सम्भव छ ।’ नेपाली सेनाको मूल्य–मान्यताको सम्बद्र्धन र प्रवद्र्धन गर्दै सकलदर्जाले फलामे अनुशासन, पारदर्शिता र सैनिक चरित्र कायम राखेर आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा उहाँको जोड रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
टिप्पणीहरू