‘बहुमत पाउने गरी सीट बाँडफाँड नभए विद्रोह’
सत्ता गठबन्धन रहेका दलहरुबीच सीट बाँडफाँडमा सकस परिरहेका बेला नेपाली काँग्रेसका प्रतिपक्षी नेता डा. शेखर कोइरालाले सयको अडान नछाड्न प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई पुनः चेतावनीपूर्ण आग्रह गर्नुभएको छ ।
कांग्रेसले सय सीट नपाए गठबन्धन गर्न नहुने अभिव्यक्ति दिँदै आउनुभएका उहाँले आज गृहजिल्ला मोरङ पुगेर पुरानै अडान दोहोर्याउनुभएको छ । पार्टी केन्द्रीय समिति बैठकले निर्णय गरेअनुसार सीट भागबण्डा नहुँदा पार्टीभित्र विद्रोह हुनसक्ने उहाँको चेतावनी छ ।
‘काँग्रेसले १०० सिट पाउनु पर्छ, यो केन्द्रीय समितिको निर्णय हो । ७० र ८० सिट दिएर त बहुमत आउँदैन । काँग्रेसको बहुमत आउने गरी गठबन्धन गर्ने भन्ने केन्द्रीय समितिको निर्णय हो । यदि काँग्रेसले १०० सिट पाउँदैन भने तालमेल हुँदैन’, उहाँले भन्नुभयो ।
सीट बाँडफाँडको विवादले गठबन्धन दलहरूलाई निर्णय गर्न कठिनाई परिरहेका बेला कोइराला भने काँग्रेसले चाहेअनुसारको चुनावी तालमेल हुनुपर्ने अडानमा हुनुहुन्छ । तर, उहाँको अभिव्यक्तिलाई लिएर काँग्रेसको संस्थापन पक्षले भने आपत्ति जनाइरहेको छ ।
टिप्पणीहरू