पत्रकारलाई सुटुक्क पैसा बाँडेको सूचना दिन किन आनाकानी ?
-रमेश बन्जारा
सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै जनताको करबाट उठाएको करोडौँ रकम आसेपासेलाई बाँडेको तथ्य लुकाउन बाग्मती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पत्रकारलाई पनि रकम दिएको खुलासा भएको छ । मनलाग्दी रकम बाँडेपछि महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाउँदा मन्त्रालयका कर्मचारीले त्यसको सूचना दिन आनाकानी गर्दै आएकोमा त्यसलाई ढाकछोप गर्न स्थानीय पत्रकारलाई रकम दिएर सूचना लुकाएको पाइएको हो ।
बफेलो क्वालिटीको नाममा ६२ लाखसहित दोहोरो अनुदानमा लाखौँ रकम आफ्नालाई दिएको तथ्य बाहिरिएपछि साउन १८ गते मन्त्रालयसंग सरोकार राख्ने विभिन्न विषयमा सूचना मागिएको थियो । तर, अहिलेसम्म पनि सूचना उपलब्ध गराउन मन्त्रालयले आलटाल गर्दै आएको छ ।
संविधानले आफू र सार्वजनिक महत्वको विषयमा हरेक नागरिकलाई सूचना पाउने हक प्रत्याभूत गरेको छ । प्रक्रिया पुर्याएर मागिएको सूचना सम्बन्धित निकायले उपलब्ध गराउनु पर्ने हुन्छ । तर,मन्त्रालयले भने पटक-पटक ताकेता गर्दा पनि सूचना दिन अटेर गरिरहेको छ । पत्रकारलाई त्यतिधेरै रकम (८१ लाख) किन र कुन प्रयोजनको लागि बाँडियो अनि महालेखाले किन बेरुजु निकाल्यो ? बेरुजु र अनियमितताको समाचार लेख्ने पत्रकार आफैँ अनियमितताको घेरामा परेपछि सत्यतथ्य जानकारी गराउनुपर्ने होइन ? तर, यससम्बन्धमा जानकारी माग्दा मन्त्रालयका सूचना अधिकारी उल्टै थाहा नभएको भन्दै टक्टकिने गरेका छन् ।
“पत्रकारलाई त्यतिधेरै रकम (८१ लाख) किन र कुन प्रयोजनको लागि बाँडियो अनि महालेखाले किन बेरुजु निकाल्यो ? बेरुजु र अनियमितताको समाचार लेख्ने पत्रकार आफैँ अनियमितताको घेरामा परेपछि सत्यतथ्य जानकारी गराउनुपर्ने होइन ?”
मन्त्रालयका सचिव शरण पाण्डेलाई किन सूचना दिन आनाकानी गर्नुभएको ? भनी सोध्दा ‘थाहा छैन’ भन्दै पन्छिए । मन्त्रालयमा हरेक दिन सयौँ मान्छे सूचना माग्न आउने गरेको भन्दै उनले आफूलाई सबै कुरा जानकारी नहुने बताए । पत्रकारलाई छानीछानी ८१ लाख बाँड्ने बेला अग्रसर हुने सचिव सूचना दिन भने पन्छिन मिल्छ ? भन्दा पाण्डेले थपे, ‘मैले कर्मचारीलाई सूचना दिनुस् भनेको छु । सायद दिनुहुन्छ होला ।’
यसबारे मन्त्री बसुन्धरा हुमागाईसित सीधै सोधखोज गर्दा उनले पनि अनभिज्ञता जनाए । मन्त्रालयको काम पैसा मात्र बाँड्ने हो कि त्यसको पारदर्शीता पनि हुनुपर्छ भनेर थप सोध्दा उनले यस विषयमा आफूलाई केही पनि थाहा नभएको भन्दै बुझेर खबर गर्ने बताए ।
त्यसपछि मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीलाई सम्पर्क गर्दा उनले झन मुखै खोल्न चाहेनन् । पटक-पटक ताकेता गर्दा पनि कुनै न कुनै बहाना बनाएर पन्छिने गरेका छन् । पछिल्लो पटक उनले शाखागत रुपमा सूचना तयार गरिरहेकाले छिटै जानकारी दिनसक्ने बताए पनि दिन भने यकिन गर्न नसक्ने बताए ।
टिप्पणीहरू