विदेश भ्रमणमा निर्वाचन आयोगको अंकुश

विदेश भ्रमणमा निर्वाचन आयोगको अंकुश

निर्वाचन आयोगले तीनै तहका सरकारलाई पदाधिकारी तथा कर्मचारीलाई भोलिदेखि विदेश भ्रमण नगराउन निर्देशन दिएको छ । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तय भई तयारीका कार्यहरू भइरहेको र समानुपातिक निर्वाचन प्रणालीतर्फ आइतबार र सोमबार उम्मेदवार मनोनयनको बन्दसूची पेश गर्ने कार्यक्रम रहेको सन्दर्भ उल्लेख गर्दै आयोगले उक्त निर्देशन दिएको हो ।

सम्बन्धित आयोजक तथा प्रायोजकबाट सम्पूर्ण खर्च व्यहोेर्ने गरी स्वीकृत गरिने वैदेशिक भ्रमणबाहेक नेपाल सरकारलाई प्राप्त हुने अनुदान तथा सहयोग रकमबाट र नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कोषबाट कुनै पनि रकम खर्च हुने वैदेशिक भ्रमण नगर्न नगराउन नेपाल सरकार, सातवटै प्रदेश सरकार र सात सय ५३ वटै स्थानीय तहलाई आयोगले निर्देशन दिएको छ ।

यसैबीच राष्ट्रिय भूमि आयोगलाई लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्य स्थगित गर्न पनि निर्देशन दिइएको छ । निर्वाचनका कार्यक्रम राजपत्रमा प्रकाशित भइसकेकाले निर्वाचन सम्पन्न नभएसम्मका लागि आफू र आफ्नो मातहतबाट हुने र भइरहेका जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गरी सोको यथार्थ जानकारी दुई दिनभित्र आयोगलाई दिन राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिइएको छ ।

टिप्पणीहरू