चिरिबाबुले डाङ्गडुङ्ग नगर्ने, दशैंपछि ‘एक्सन’ मा जाने
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मापदण्डविपरितका भवनमा डोजर लगाएपछि अन्यत्रका नगरपालिका पनि तातेका छन् । काठमाडौंसँगै जोडिएको ललितपुरले भने खासै चासो नदिएको स्थानीयको भनाइ छ ।
तर मेयर चिरिबाबु महर्जन निकट स्रोतले आफूहरु बालेन साहले झैं विध्वंश नमच्चाउने बताएका छन् । फेला परेका केही मापदण्ड विपरितका भवन वा संरचनामा भने आवश्यक कानुनी प्रक्रिया अपनाएर ‘एक्सन’ लिइने छ ।
‘ललितपुरका केही संरचनाको अनुगमन गरिएको छ । हालसम्म आठ दश वटा भवन मापदण्ड विपरित ठडिएको पाएका छौं । दशैंअघि विध्वंसमा नजाने मेयरको आशय छ, सायद दशैंपछि उपयुक्त एक्सनमा जान्छौं होला,’ महानगरको उच्च स्रोतले दाबी गर्यो ।
स्थानीय तहको कानुनमा त्यस्ता संरचना भत्काउने अधिकार मेयरलाई दिइएको छ । काठमाडौंका मेयर गत भदौको प्रारम्भदेखि तातेपछि अरु नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिकाका मेयर पनि दवावमा परेको बताइन्छ ।
ललितपुरमा भने हालसम्म सबै लगत संकलन गरिएको र उल्लेख्य संख्या नपाइएको स्रोतले बतायो । हालसम्म मापदण्डविपरित खडा गरिएको जावलाखेलको पेट्रोल पम्पलाई शिलबन्दी गरिएको छ भने अरुमाथि दशैंपछि एक्सन लिने तयारी छ ।
टिप्पणीहरू