पोखराका मेयर पनि ‘एक्सन’ मा
पोखरा महानगरपालिकाले फेवाताल वरपर नयाँ संरचना निर्माणमा रोक लगाएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेशले फेवातालदेखि ६५ मिटरभित्र कुनै पनि प्रकारको नयाँ संरचना नबनाउन निर्देशन दिएपछि महानगरपालिकाले प्रतिबन्ध लगाएको हो ।
फेवातालको किनारमा विभिन्न संरचना बनाउँदै गरेको पाइएपछि महानगरले त्यसलाई तत्काल रोक्न निर्देशन दिएको छ । नगरप्रमुख धनराज आचार्यले निर्माण कार्य तत्काल रोक्न निर्देशन दिनुका साथै नगरप्रहरीले निर्माण सामग्रीसमेत जफत गरेका छन् ।
साथै, महानगरको निर्देशनलाई अटेर गरी संरचना निर्माण गरे भत्काउन लाग्ने खर्चसमेत सम्बन्धित व्यक्तिबाट असुलउपर गरिने चेतावनी दिइएको छ । फेवातालभित्रका अवैध संरचना हटाएर त्यसलाई पुरानै स्वरुपमा फर्काउने महानगरको भनाइ छ ।
महानगर टोलीले हिजो फेवातालको जलाधार क्षेत्रमा पर्ने सिमसारको अनुगमन गरेको छ । पानीको बहावलाई रोक्न फेवातालको माथिल्लो क्षेत्रमा ढुंगा, माटो राखेको पाएपछि टोलीले त्यसलाई पनि हटाएको छ । सिमसार क्षेत्र कृषि प्रयोजनका लागि मात्र उपभोग गर्न पाइने प्रावधान छ ।
टिप्पणीहरू