५० प्रतिशत सीट माग्दै महिलाहरु माइतीघरमा

५० प्रतिशत सीट माग्दै महिलाहरु माइतीघरमा

प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा महिलाको सहभागिता सुनिश्चितताको माग गर्दै आज काठमाडौँमा प्रदर्शन भएको छ । महिला अधिकारवादी सङ्घसंस्थाले माइतीघरमा भेला भएर सामुहिक प्रदर्शन गरेका हुन् ।

महिला पुनर्स्थापना केन्द्र (ओरेक) नेपाललगायतका महिलावादी सङ्घ संस्थाहरूले संविधानको मर्म र भावनाबमोजिम निर्वाचनमा महिलाको उम्मेदवारी हुनुपर्नेमा जोड दिएका छन् । प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत महिलाको समानुपातिक समावेशिताको अधिकार सुनिश्चित गर्नका लागि राजनीतिक दलहरूलाई दबाब दिने उद्देश्यले प्रदर्शन गरिएको ओरेकले जनाएको छ ।

महिलावादीहरूको उक्त प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । सभामा बोल्दै ओरेक नेपालकी अध्यक्ष डा. रेणु अधिकारीले जनसङ्ख्याका आधारमा सङ्घ र प्रदेशसभा सदस्यमा महिलाको समान सहभागिता हुनुपर्ने धारणा राखेकी थिइन् ।

निर्वाचनमा सबैभन्दा बढी मतदाता महिलाहरू नै रहेको बताउँदै उनले जनसङ्ख्याको आधारमा महिला सहभागिता हुनुपर्ने बताइन् ।

टिप्पणीहरू