आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन सुविधा,सबैले हुन्न सराबरी
तत्काल सवारी चालक अनुमतिपत्र (लाइसेन्स) चाहनेलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले अनलाइनमार्फत निवेदन दिन सकिने व्यवस्था मिलाएको छ ।
विभागले आज सूचना जारी गर्दै आगामी असोज ७ गते शुक्रवारदेखि अर्जेन्ट लाइसेन्सका लागि अनलाइन निवेदन खुलाइएको जानकारी दिएको हो । अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक,शान्ति सेना मिशनका लागि बाहिरिने नेपाली सेना एवम् नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकहरुले निवेदन दिन मिल्ने विभागले जानकारी गराएको छ ।
‘अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक,शान्ति सेना मिशनका लागि विदेश जाने नेपाली सेना एवम् नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकहरुको लागि सवारी चालक अनुमतिपत्र शीघ्र प्रिन्ट गर्न यस विभागको अनलाइन सवारी चालक अनुमति पत्र प्रणालीको पोर्टलमार्फत मिति २०७९–६–७ गते शुक्रवारदेखि अनिवार्य रुपमा अनलाइन निवेदन दिने व्यवस्था गर्न लागिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, विभागले भनेको छ ।
साथै,निवेदन दिनका लागि आवश्यक कागजातहरु सम्बन्धित मेनुअल पोर्टलमा राखिएकोवारे सुसूचित गराइएको छ । निवेदकले सवारीचालक अनुमतिपत्र लिन जाँदा निवेदनको प्रिन्टसहित पोर्टलमा अपलोड गरेका कागजातको सक्कलप्रति विभागमा पेश गर्नुपर्नेछ ।
टिप्पणीहरू