नेपाली पात्रोको गज्जब ‘न्युज अपडेट’
नेपाली पात्रोले समाचार पढ्न चाहने पाठकका लागि नयाँ सुविधासहितको मोबाइल एप सार्वजनिक गरेको छ । नेपाल र विश्वभरका ताजा, ब्रेकिङ समाचार, अपडेटहरू नियमित र छिटो अद्यावधिक गराइरहन ‘नेपाली पात्रो’ले समाचारको नयाँ सुविधासहितको एण्ड्रोइडमा अपडेटेड भर्जन ६.४.२ तथा आइओएसमा भर्जन ६.३.० सार्वजनिक गरेको छ ।
नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ ले समाचार सुविधाअन्तर्गत मुुलुककै सबैभन्दा भरपर्दो मिडिया स्रोतहरूबाट ब्रेकिङ न्यूज अलर्ट, छलफल, विशेष अन्तर्वार्ता, विश्लेषण, फिचर स्टोरीहरू दिँदै आएको छ । प्रयोगकर्ताको अनुभवका आधारमा जारी नयाँ डिजाइनसहितको समाचार सुविधामा १० नयाँ उपयोगी अपडेट संलग्न गरेको बताइएको छ ।
नयाँ भर्जनमा यसअघिका आफ्नो रोजाई (पर्सनलाइज्ड) सुविधालाई ‘यो गज्जब छ’ भन्ने थिममा थप व्यवस्थित गरेर निरन्तरता दिइएको दाबी छ । प्रयोगकर्ताले लग इन गरेर आफूले रोजेका मनपर्ने समाचार स्रोत मात्रका सञ्चार गृह र आफ्नो रुचीका सामग्री प्राप्त गर्न सक्नेछन् ।
के छ ‘नेपाली पात्रो’ को नयाँ अपडेटमा ?
नयाँ डिजाइनः सरल, सफा र सुधारिएको फरक डिजाइन नयाँ अपडेटको विशेषता हो । जसको मुख्य पानाको माथिल्लो भागमा प्रमुख विशेषताहरु समेटिएका छन् । उक्त भागमा समाचार खोज्नेदेखि समाचार बुकमार्क गर्ने, समाचार नोटिफिकेशन र भाषा सेटिङ राखिएको छ । ९ वटा विषयवस्तु (क्याटोगरी) सहितको स्मूथ ट्याब संलग्न गरिएको छ । सोही ट्याबको तल्लो भागमा क्रमशः तस्बिरसहितको गोलाकार आइकनमा ट्रेन्डिङ विषयहरु समावेश गरिएका छन् ।बुक मार्क : आफ्नो रोजाइका विषयगत समाचार सामाग्रीहरु केवल समाचार होइनन् । ती एउटा कालखण्ड, समय, विशेष क्षण, खोजमूलक, तथ्यपरक महत्वपूर्ण जानकारी भएको बताइन्छ । धैरेले यस्ता सामाग्रीका समाचार लिंकहरु नोटप्याडमा, कतै इमेलमा संग्रह गरेर राख्ने गरेका पाइन्छ । यसको समाधान भनेकै बुक मार्क भएको पात्रोको भनाइ छ ।
नेपाली पात्रो लग इन गरे पनि नगरे पनि बुक मार्क सुविधालाई प्रयोग गर्न सकिन्छ । लग इन गरेका प्रयोगकर्ता र लग इन नगरेका प्रयोगकर्तामध्ये लग इन गरेका नेपाली पात्रो प्रयोगकर्ताहरुले आफूले बुकमार्क गरी सेभ गरेका कुनै पनि समाचार भविष्यमा जुनसुकै मोबाइलमा सोही लग इन आइडीबाट लग इन गरेको खण्डमा सबै उही अवस्थामा भेटिने बताइएको छ । लग इन नगरी बुक मार्क गर्ने प्रयोगकर्ताहरुले केही कुनै कारणले नेपाली पात्रो पुनःइन्स्टल गर्नुभएमा अथवा मोबाइल परिवर्तन गरी नयाँ नेपाली पात्रो इन्स्टल गर्नुभएमा सुरक्षित राखिएका बुक मार्क सामाग्री देखिने छैनन् ।
उपयोगी फुटर ट्याबको फुटर भागमा समाचार, ट्रेन्डिङ, तपाइको लागि, नोटिफिकेशन तथा अन्य सुविधा समेटिएको छ । समाचार ट्याबले नौ वटा विषयवस्तु समेट्ने विभिन्न समाचार स्रोतहरुका ताजा समाचारलाई देखाएको छ । ट्रेन्डिङ ट्याबले नेपाली पात्रो एपमा सबैभन्दा बढी पढिएका र चर्चामा रहेका समाचारहरु देखाएको छ ।
प्रचलन तथा चर्चामा रहेका समाचार सामग्री खोज्ने तथा ट्रेन्डिङ समाचार मनपराउनेहरूको लागि नेपालमै पहिलो पटक क्लिकको संख्या र धेरै मानिसहरूको पहुँचको आधारमा नेपाली पात्रो एपको ट्रेन्डिङ समाचार सार्वजनिक गरेको छ । प्रत्येक समाचार कभरमा चित्रित आँखा चिन्ह मार्फत, नयाँ अपडेटेड समाचार यूआइले कुन ट्रेन्डिङ समाचार कति प्रयोगकर्ताले पढे, हेरे भन्ने संख्यालाई हरेक ट्रेन्डिङ समाचारको तस्बिरमा आँखा चिन्हसँगै देखाइएको छ ।तेस्रो फुटर ट्याब फुटर भागको तेस्रो सुविधा हो । यो पर्सनलाइजेशन सुविधा भएको र गज्जब बताइन्छ । यसमार्फत् प्रयोगकर्ताले आफूलाई मनपर्ने विश्वसनीय समाचार स्रोतहरु मात्रको समाचार हेर्न विभिन्न समाचार स्रोतहरु छनोट गर्न सक्नेछन् । त्यस्तै आफ्नो रोजाइका विषयवस्तु मात्रका समाचार पनि छनोट गर्न सक्नेछन् । यसका लागि फेसबुक, गुगल अथवा इमेल आइडीबाट नेपाली पात्रोको समाचार सेवा लग इन गर्नुपर्नेछ ।
चौथो फुटर ट्याब : यसमा नोटिफिकेशन राखिएको छ । सबैलाई नोटिफिकेशन मन नपर्न सक्छ । ति प्रयोगकर्ताहरुका लागि स्मार्ट समाधानको रुपमा ‘सेभ्ड नोटिफिकेशन’ सुविधा सार्वजनिक गरिएक छ । आफ्नो मोबाइल सेटमा नोटिफिकेशन आएको मन नपराउने अथवा कुनै महत्वपूर्ण नोटिफिकेशन मेरो आज कुनै छुट्यो भनेर दिक्क मान्ने दुवै खाले प्रयोगकर्ताहरुका लागि निःशर्त व्यवस्थित तथा हो–हल्ला नगर्ने ‘सेभ्ड नोटिफिकेशन‘ को सुविधा समावेश गरेको छ ।
नोटिफिकेशन अफ गरेर समाचार हेर्ने प्रयोगकर्ताहरुले आफ्नो समय अनुकूल जुनसुकै समयमा नोटिफिकेशन ट्याबमा गएर दिनभरका महत्वपूर्ण समाचारका नोटिफिकेशन प्राप्त गर्न सक्छन् । उक्त नोटिफिकेशन ट्याबमा देखिने समाचारहरु क्लिक नभएको अथवा नपढिएमा समाचार फोटोमा नीलो रङसहितको गोलो घेरा संकेत देखिन्छ । समाचार नोटिफिकेशनलाई क्लिक गरेपछि उक्त घेरा हट्छ । यस सुविधाले कुन नोटिफिकेशन पढियो वा पढिएन भन्ने थाहा हुन्छ । फुटर ट्याब : नेपाली पात्रोका अन्य ताजा अपडेट, सुविधा तथा नवीन आविष्कारहरुलाई विविध सुविधाको रुपमा ‘अन्य’ ट्याबमा समेटिएको छ ।
शीर्ष १० समाचार : यो सुविधा नयाँ अपडेटेड समाचार सुविधामा समावेश गरिएको छ । जसले देश तथा विदेशका १० महत्वपूर्ण समाचारलाई स्वचालित ढंगले संग्रहित गराउँछ । नेपाली पात्रो एपको विभिन्न विषयवस्तुमा बढी खोजिएका उस्तै खालका शीर्षक तथा समाचारहरुलाई छुट्याएर एपले शीर्ष १० समाचार तथा पाठकलाई मनपर्न सक्ने शीर्षकमार्फत समाचार सुझाउने छ ।
सन् २००६ मा प्रथम पटक सार्वजनिक गरिएको ‘नेपाली पात्रो’ हाल एक करोड डाउनलोडको नजिक पुगेको जानकारी दिइएको छ । आगामी ६ महिनामा विविध नवीन प्रयोगसहितका सुविधाहरु थप्ने योजनामा रहेको बताइन्छ । हाल १३ देखि १४ लाख दैनिक प्रयोगकर्ताले नेपाली तिथि, मिति, चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दु उत्सव र पर्व, विभिन्न जातजाति, भाषाभाषीका धर्म, आस्था तथा संस्कृतिलगायत सम्पूर्ण विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारी लिँदै आएको दाबी गरिएको छ ।
‘नेपाली पात्रो’ बाट नेपाली समय, तिथिमिति, पञ्चाङ, शुभ साइत र मुहुर्त, घडी पलाहरुको सम्पूर्ण जानकारी सजिलै संसारको जुनसुकै कुनाबाट प्राप्त गर्न सकिन्छ ।
टिप्पणीहरू