सिनामंगलमा पुरुषको शव फेला,हत्या भएको पारिवारिक आशंका
हिजो काठमाडौंको सिनामंगलमा मृत भेटिएका पुरुषको हत्या भएको आशंका गरिएको छ । घोप्टो पारेर फालेको अवस्थामा शव फेला परेपछि मारेर फालेको भन्दै सुरज खड्काका आफन्तले आज प्रहरी कार्यालय घेरेका हुन् ।
दोलखा घर भएर हाल सिनामंगल बस्दै आएका ३२ वर्षीय सुरज अस्ति बेलुका काम परेको भन्दै घरबाट निस्किएका थिए । बेलुका फोन गरेर आफू घर नआउने र खाना खाएर सुत्नु भनेको बहिनी अस्मिता खड्काले बताइन् ।
अस्ति घरबाट सकुशल निस्केको व्यक्ति हिजो मृत भेटिएपछि परिवारले हत्याको आशंका गरेको छ । प्रहरीले भने एक महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । रञ्जिता खत्री र सुरजले आफूहरु दिदीभाइ भएको भन्ने गरेपनि भित्रभित्रै अरु नै केही भएको प्रहरीको अनुमान छ ।
यता,रञ्जिताले यसअघि नै दुईपटक विवाह गरिसकेको र उनको एक छोरा रहेको खुलेको छ । सुरजको शव हिजो सिनामंगलस्थित बाजेको सेकुवा घरनजिक घोप्टो पारेर राखेको अवस्थामा फेला परेको थियो । हाल शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।
उनी मृत भेटिएपछि परिवार पनि घरबाट काठमाडौं आइपुगेका छन् । सुरजले किराना पसल सञ्चालन गर्दै आएका थिए ।
टिप्पणीहरू