ओलीका विश्वासपात्र यसपाली अप्ठेरोमा
नेकपा एमालेको जारी मतगणनामा केपी शर्मा ओलीका विश्वासपात्र विष्णुप्रसाद रिमाल पछि परेका छन् । उपमहासचिव पदमा उठेका उनले माओवादीबाट आएका लेखराज भट्ट र ईश्वर पोखरेल प्यानलका योगेशकुमार भट्टराईको भन्दा कम मत ल्याएका छन् ।
पदाधिकारीमा ओली प्यानलका अधिकांशले अग्रता बनाइरहँदा उपमहासचिवमा रिमाल भने चौंथो स्थानमा छन् । तीन जना निर्वाचित हुने उपमहासचिवमा सबैभन्दा बढी भोट पूर्व माओवादी नेता भट्टलाई खसेको छ । मत गणनाको पछिल्लो अपडेटअनुसार उनले ७३४ भोट प्राप्त गरेका छन् ।
दोस्रोमा ईश्वर प्यानलका भट्टराईले ७०९ मत पाएका छन् । रघुवीर महासेठ ६८९ भोटसहित तेस्रोमा छन् । रिमालको पक्षमा ५४० मत खसेको छ ।
अहिलेसम्म भूगोलको राजनीति नगरेका रिमाल ओलीका अति विश्वासपात्रका रूपमा चिनिन्छन् । ओली तीनचोटि प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार रहेका उनी दशौँ महाधिवेशनमा प्रतिष्पर्धाबिनै उपमहासचिव चुनिएका थिए ।
यसपटक ओली प्यानलबाट सोही पदमा उठेका उनलाई जित हासिल गर्न कठिन देखिन्छ । रिमालले ओलीलाई गलत सल्लाह दिएकै कारण भदौ २३ र २४ को घटना घटेको अधिकांश एमालेजनको बुझाई देखिन्छ ।
यहि बुझाइका कारण अध्यक्षमा ओलीले ईश्वर पोखरेलको भन्दा तेब्बर बढी मत पाउँदा रिमाल भने उपमहासचिमा पछि परेको भन्छन्, एमालेका कार्यकर्ता ।
टिप्पणीहरू