“अल बिदा” भनेर निस्किएका पत्रकार अझै भेटिएनन्,खोजी कार्य जारी

“अल बिदा” भनेर निस्किएका पत्रकार अझै भेटिएनन्,खोजी कार्य जारी

सामाजिक सञ्जालमा “अल बिदा” भनेर आज बिहानदेखि सम्पर्कविहिन भएका पत्रकार विदुर कटुवालको अहिलेसम्म पनि अत्तोपत्तो लाग्न सकेको छैन । आफूले मृत्यु रोजेको भन्दै फेसबुकमा लामो स्टाटस लेखेर बेपत्ता भएका उदयपुरका पुराना पत्रकार कटुवालको बारेमा केही जानकारी पाउन सकिएको छैन ।

श्रीमतीसंग डिभोर्स गर्नुभन्दा मर्नु बेस भन्दै स्टाटसको शुरुमै “अल बिदा” लेखेका उनको त्यसयता मोबाइल स्वीच अफ छ । काठमाडौंको बुद्धनगरमा भाइसंग बस्दै आएका उनी बिहानै डेराबाट निस्किएको नजिकको सिसिटिभी क्यामेरामा देखिन्छ । प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको छ । उद्धार गर्नका लागि पत्रकारहरु पनि खटिएका छन् ।

यता,नेपाल पत्रकार महासंघका पदाधिकारीहरुले बिहानैदेखि प्रहरी वृत्त, नयाँ बानेश्वरमा धर्ना दिएका छन् । प्रहरीले सिंगापुरमा फेसबुकलाई अलर्ट गराइदिनका लागि पत्र पठाइसकेको छ । नेपालमा संविधान दिवसले गर्दा आज अदालत र नेपाल टेलिकम बन्द भएकोले उनको कल डिटेल हेर्न मुश्किल परेको छ ।

उनी यसरी घरबाट निस्किनुको कारण पारिवारिक लफडा भएको बताइन्छ । उनले स्टाटसमा,‘ डिभोर्सको पेपरमा ल्याप्चे लगाएर कायरता देखाउनुभन्दा मृत्यु नै रोजेँ प्रिय रिता, मिस यु’ भनेर श्रीमतीलाई सम्बोधन गरेका छन् । छोरोलाई सम्झाउँदै लेखेका छन्, ‘बाबाले मामुलाई डिभोर्स दिनुभयो भन्ने हल्ला तिमीले सुन्नुभन्दा बाबा मर्नुभयो भन्ने खबर नै ठीक हुन्छ होला छोरो !’

भाइहरुलाई सम्झाउँदै उनले आमा र बाबाको ख्याल गर्न पनि सुझाएका छन् । आज बिहान ९ बजेको समयमा उनले लेखेको फेसबुक स्टाटसमा श्रीमतीलाई पहिलेको कुरा सम्झाउँदै उल्लेख गरेका छन्, ‘प्रिय रिता,तिमीलाई मैले मर्न मन लाग्छ भनेको थिएँ । मर मर भन्थ्यौ । अब मर्छु । बाँच्दिन खुशी हुुनु ।’

पत्रकार कटुवाल सानैदेखि जनयुद्धमा लागेका व्यक्ति हुन् । सक्षम पत्रकारको उदाहरण बनेका उनी लामो समयदेखि क्रियाशील पत्रकारितामा थिए ।

टिप्पणीहरू