सबै वाम कसरी भए एकै ठाम

सबै वाम कसरी भए एकै ठाम

नेपाली राजनीतिमा लामो समयदेखि एजेण्डा र संघसंस्थाको निर्वाचनमा जुधिरहेका वामपन्थी दल ललितपुरमा भने एकाएक एक ठाउँ आइपुगेका छन् । बचत तथा ऋण सहकारी संस्थाको निर्वाचनमा माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादीले गठबन्धन गरेर नेपाली कांग्रेससँग भिडेका छन् । कसरी भए त सबै वाम, एकै ठाम ? कथा बेग्लै छ ।

सहकारी क्षेत्रमा लामो समयदेखि नेकपा एमालेको एकछत्रजस्तै थियो । राष्ट्रिय सहकारी बैंक, सहकारी महासंघ, सहकारीका केन्द्रीय संघहरू जताततै वामपन्थीको बर्चस्व भएका बेला एमालेसँग निकट केही फरक राजनीतिक अनुहारलाई पनि राजनीतिक रूपमा समावेशी छ भन्ने देखाउन समेट्ने गरिएको थियो ।

ललितपुर बचत तथा ऋण सहकारी संघमा पनि सहकारी बैंकका सञ्चालक रामहरि बजगाईंलाई अध्यक्ष दोहो¥याउन यसरी नै गठबन्धन जुटेको देखिन्छ । माओवादी निकट रामहरिले एमाले र एकीकृत समाजवादीलाई लिएर चुनावमा जान लागेपछि माओवादी केन्द्रका नेताहरूले यस्तो गठबन्धन नगर्न सुझाव दिएका थिए । ऊर्जामन्त्री पम्फा भुसाल र जिल्ला इञ्चार्ज हरि दाहालले कि निर्वाचन सार्न कि नेपाली कांग्रेसलाई समेट्न अनुरोध गर्दा पनि बजगाईंसहितका सहकारीकर्मीले नमानेर अघि बढेको माओवादी नेताहरू बताउँछन् ।

मंसिर ४ कै निर्वाचनमा जित्न नसकिने र गठबन्धनमा जानैपर्ने बाध्यता भएका ऊर्जामन्त्री भुसाल, माओवादी सांसद राजकाजी महर्जन, एकीकृत समाजवादीका अध्यक्ष हरिकृष्ण थापा नेपाली कांग्रेससहितलाई समेटेर लैजाने पहलमै थिए । तर माओवादी र एमाले मात्रै मिलेर पनि जित्ने निश्कर्ष निस्किएपछि एकीकृत समाजवादीमा कता गठबन्धन गर्ने भन्ने विषयमा विवाद नै भएको बुझिएको छ ।

जगमा निर्वाचन सहकारीकर्मीबीच बाँडिएर भए पनि त्यसको अन्तर्यमा राष्ट्रिय सहकारी बैंक भर्सेज सुरेन्द्र भण्डारी अध्यक्ष रहने गरी प्रस्तावित राष्ट्रिय सहकारी बैंकबीचको तनावपूर्ण सम्बन्ध रहेको बताइएको छ । भण्डारीले अर्को सहकारी बैंक दर्ता गर्न खोजिरहेको अवस्थामा उप्रेती अध्यक्षतामा रहेको बैंकका सञ्चालक बजगाईलाई कुनै हालतमा नमान्ने गरी पृष्ठभूमि तयार पारिनुलाई मुख्य कारण मानिएको छ ।

रोचक त तीनवटा पार्टी मिलेर बनाइएको प्यानलमा तीनजना भने छुटेका छन् । साविक सञ्चालक समितिका कोषाध्यक्ष दिपक घिमिरेलाई माओवादी नेताहरूको दवावमा सचिवको उम्मेदवार बनाइएकोमा उनी पराजित भएका छन् भने एकीकृत समाजवादीका विदुर तिमल्सिना र नेकपा एमालेका राजेश विशुंखेले पनि हारेका छन् ।

टिप्पणीहरू