देउवालाई कोइरालाले दिएको त्यो अन्तिम म्याद,पूरा होला त आजको रात ?

देउवालाई कोइरालाले दिएको त्यो अन्तिम म्याद,पूरा होला त आजको रात ?

पार्टीमा ४० प्रतिशत हिस्सेदारी खोज्दै देउवाको नेतृत्वविरुध्द सडकमा उत्रिएको नेपाली कांग्रेसको शेखर कोइराला समूहले समानुपातिकको बन्दसूची सच्याउन दिएको अल्टिमेटम आज सकिँदैछ । निर्वाचन आयोगमा पेश भएको बन्दसूचीमा आफू पक्षीय उम्मेदवारहरुको नाम नपारिएको भन्दै शेखर खेमाले आज (१४ गते) भित्र सूची नसच्याए थप आन्दोलन गर्ने तयारी छ ।

पार्टी नेतृत्वलाई दबाब दिने उध्देश्यले एक सातायता पटक-पटक छुट्टै भेला गरेको शेखर पक्षले हिजो चियापान कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा पुगेका शेखर,गगन थापालगायतका नेताहरुले संस्थापनसँग लडेर भए पनि आफ्नो हक स्थापित गरी छाड्ने विश्वास कार्यकर्तालाई दिलाएका थिए ।

संस्थापनविरुध्द सबैभन्दा चर्को भाषण गर्दै आएका शेखर पक्षीय नेता गुरुराज घिमिरेले त समानुपातिकको बन्दसूची सच्याउन आज बेलुकासम्म पर्खने तर आफ्ना माग सम्बोधन नभए थप निर्णय गरेर अघि बढ्ने भन्दै आन्दोलन अझै चर्काउने संकेत गरेका थिए । त्यस्तै, महामन्त्री गगनको ससुरासमेत रहेका शेखर समूहका अर्का नेता अर्जुननरसिंह केसीले पार्टी सभापतिसँग अन्तिम समयसम्म सहमतिको प्रयत्न गरिरहने तर गठबन्धनको आडमा पेल्न खोजे त्यसको परिणाम गम्भिर हुने चेतावनी दिएका थिए ।

चुनावको मुखमा पार्टी नेतृत्व र सिंगो गठबन्धनविरुद्ध कोइराला खेमा खुलेआम आन्दोलनमा उत्रिएपछि दबाबमा पर्नुभएका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा समानुपातिक सूची हेरफेरका लागि तयार हुनुभएको छ । शेखरहरुले भनेकै समयमा निर्णय गर्न आज कांग्रेस पदाधिकारी बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सूची हेरफेर गर्नुका साथै प्रत्यक्षमा कोइराला पक्षलाई ३० प्रतिशत भाग लगाउने विषयमा कुराकानी भएको बताइन्छ ।

असोज ३ गते आयोगमा बुझाइएको बन्द सूची सच्याउने म्याद १६ गतेसम्म छ । भोलि शनिबार परेकाले आजै सूची सच्याउनु पर्ने हुन्छ ।

टिप्पणीहरू