आज महाअष्टमी, शक्तिपीठमा श्रद्धालुहरुको भीड
आज दशैंको आठौं दिन महाअष्टमी मनाईंदैछ । हिन्दु धर्मावलम्बीहरुले आज आफ्ना कुल, देवीदेवताको पूजा गरी बली चढाउने गर्छन् । सात्विकहरूले भने नरिवल, कुभिण्डो, केरा, घिरौँला जस्ता फल अर्पण गर्छन् ।
भरे राति हनुमानढोकास्थित तलेजु भवानीमा ५४ वटा राँगा र त्यत्ति नै संख्यामा बोकाको बलि दिइन्छ । काठमाडौं उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराहीलगायत मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ ।
त्यसैगरी सप्तरीको कंकालिनी देवी, काभ्रेको पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारालगायत मन्दिरमा पनि श्रद्धालुहरुको घुइँचो देखिन्छ ।
आजै राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान पलाञ्चोक भगवतीको र अपरान्ह काठमाडौं उपत्काका विभिन्न शक्तिपीठको दर्शन गर्ने कार्यक्रम छ ।
टिप्पणीहरू