खोटाङमा अनमी भर्नाको लफडा, परीक्षा पुनः सञ्चालनको माग

खोटाङमा अनमी भर्नाको लफडा, परीक्षा पुनः सञ्चालनको माग

खोटाङमा अनमी भर्नाको लफडा, परीक्षा पुनः सञ्चालनको माग

खोटाङको रावाबेँसी गाउँपालिकामा करार अनमी भर्नाका लागि सञ्चालन गरिएको परीक्षा पुनः सञ्चालनको माग गरिएको छ । करारमा सहायक चौथो स्तरका दुई जना अनमी भर्नाका लागि गाउँपालिकाले असोज १ गते लिखित तथा मौखिक परीक्षा सञ्चालन गरेको थियो । तर एक जना परीक्षार्थीले ‘सेटिङ’ मा अनमी भर्ना गरिएको आरोप लगाउँदै पुनः परीक्षाका लागि गाउँपालिकामा निवेदन दिएका हुन् ।

असोज २ गते दिइएको निवेदनमाथि गाउँपालिकाबाट कुनै सुनुवाई नभएपछि उक्त विषय थप पेचिलो बनेको छ । चालु आर्थिक वर्षको निम्ति करार पदमा सहायकस्तर चौथो तहको अनमी भर्नाका लागि गाउँपालिकाले गत भदौ १० गते विज्ञापन गरेको थियो ।

गाउँपालिकामा हालिएको लिखित उजुरीमा स्वास्थ्य आयोगको ढाँचा र नियम अनुसार ५० वटा प्रश्न सोधिनुपर्नेमा २४ वटा मात्र सोधिएको, पहिल्यै हल्ला चलेबमोजिम गाउँपालिकाका अध्यक्षले बोलाएको व्यक्तिले उतीर्ण गरेको, उतीर्ण परीक्षार्थी लिखित परीक्षाको क्रममा १० मिनेटमै हलबाट बाहिरिएको, २४ प्रश्नमध्ये २४ वटै जवाफ मिलेका कारण प्रश्न–पत्र आउट भएको आरोप लगाइएको छ ।

निवेदकले भनेका छन्, ‘परीक्षा सञ्चालन अवधिको सीसी क्यामेराको फुटेज हेर्नुपर्छ । कानुन हातमा लिइ मनपरी गरिएकाले कानुनअनुसार पुनः परीक्षा गराउन अनुरोध छ ।’ उनले आफ्नो निवेदनको बेवास्ता गरिएमा माथिल्लो निकायमा जाने चेतावनी समेत दिएको बताइन्छ ।

गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले अन्तिम परिणाम घोषणा भइसकेकाले पुनर्विचार गर्न नसकिने उल्लेख गरे । उनले भने, ‘अनमीको विषयमा केही दिनपछि मात्र निवेदन परेको सुनेँ । अन्तिम परिणाम सार्वजनिक गर्नुअघि लिखित निवेदन परेको भए परीक्षा रोकेर छलफल गर्न सकिन्थ्यो ।’

गाउँपालिकाले करारमा अनमीसहित हेल्थ असिस्टेण्ट, रोजगार सहायक र कृषि स्नातक प्राविधिकको परीक्षा सञ्चालन गरेको थियो । केहीको परीक्षामा परिक्षार्थीले सन्तुष्टि जनाउँदै आएका छन् ।

टिप्पणीहरू