‘नेपालीलाई पढ्न सम्झाउनुपर्छ, रक्सी पिउन केही भन्नै पर्दैन’
विक्रमवीर थापा
शिलोङ, भारत ।
गोर्खा अर्थात् नेपालीलाई रक्सी पिउनु भनेर घच्घचाउनु पर्दैन । तर पढ्नलाई घच्घचाउनुपर्छ । यो सचित्र कथा ‘नालापानी’ अनि उपन्यास’ टिस्टादेखि सतलजसम्म’ को प्रसंग हो ।
मैले धेरैपल्ट भनेको छु– सचित्र कथा ‘नालापानी’ भारतीय नेपाली साहित्यको पहिलो सचित्र कथा हो । यो मैले नै सम्पादन गरेको हुँ । नालापानीलाई लिएर गोर्खाहरू हुँकार गर्छन्, ‘हामी त्यसै भारतमा आएका होइनौँ । टिष्टादेखि सतलजसम्मको माटो सँगसँगै आएका हौँ ।’
सन् १८१४–१६ को नेपाल–अंग्रेज युद्धले गर्दा सन् १८१६ मा सुगौली सन्धि भएपछि नेपालले टिस्टादेखि सतलजसम्मको आफ्नो माटो तत्कालीन इष्ट इण्डिया कम्पनीको हातमा पुगेको थियो । यो तथ्यपरक इतिहास हो ।
नेपाल–अंग्रेज युद्धको परिणति हो– गोर्खा पल्टन खोलिनु । गोर्खा पल्टनले गर्दा नेपाली ठिटाहरू ‘गोर्खा’ भनेर विश्वप्रसिद्ध भए । जो आधा गोर्खा आज भारतमा छन् । जसले गोर्खा भएर ‘गोर्खाल्याण्ड’ माग्छन् । माग्नुको औचित्य छ, कारण टिस्टादेखि सतलजसम्मको माटो यता परेर यो माटो स्वदेशी हुन्छ भने, यताका गोर्खा पनि विदेशी नभएर स्वदेशी हुन् ।
नेपाल–अंग्रेज युद्ध हुँदा देहरादूनको नालापानीस्थित खलंगा किल्लामा भएका गोर्खाली सैनिकहरूले इष्ट इण्डियाका सैनिकसँग युद्ध गर्नुपरेको थियो । गोर्खाली सैनिकको नेतृत्व वीर बलभद्र कुँवरले गरेका थिए ।
नालापानीको युद्धको चित्रसहितको युद्ध कथाको सम्पादन यो लेखकले गरेको हो, जो थालनीमा लेखिदिएको छु । सम्पादन १९८८ मा गरेको थिएँ ।
सम्झना रहोस्, ‘उपन्यास टिस्टादेखि सतलजसम्मको थालनी खलङ्गा किल्लाको युद्धबाट थालिएको हो । थालनीकै युद्धको वर्णन मैले टपक्क टिपेर सचित्र कथा नालापानीको सम्पादकीयमा हालिदिएको हुँ ।’
योभन्दा अगावै मैले सन् १९८३ मा उपन्यास टिस्टादेखि सतलजसम्म लेखिसकेको अनि सन् १९८६ मा प्रकाशित भएको थियो । उपन्यास लेखिँदा गोर्खाल्याण्डको जन्म भएको थिएन । उपन्यासमा गोर्खाल्याण्ड शब्द कतै ढिम्किएको छैन । नेपाली÷गोर्खा विवाद पनि थिएन । मैले भारतीय नेपालीका लागि आफ्नो माटो चाहिन्छ भनेर उपन्यास टिस्टादेखि सतलजसम्ममा वर्णन गरिदिएको हुँ ।
गत १७ जुनमा यहाँका गोर्खाहरूलाई ‘नालापानी’ र उपन्यास ‘टिस्टादेखि सतलजसम्म’ बारे जानकारी दिएको थिए । तर कसैले चासो लिएनन् । गोर्खाहरूलाई रक्सी पिउनु भन्नुपर्दैन । तर पढ् भनेर कर लाउनुपर्छ । रक्सी पिउँछन् भनेर म सबैलाई भन्दिनँ । एकाध पढ्नेहरू पनि छन् ।
टिप्पणीहरू