भीम र भुसाल एमालेमा फेरि भसक्कै
आफूसँग तालमेल नगरी नहुने भएपछि राप्रपाले नेपालगन्जमा धवल समशेर र झापामा राजेन्द्र लिङ्ग्देन मात्र हैन,रुपन्देही क्षेत्र नम्बर १ मा वरिष्ठ नेता दिपक बाेहाेरालाईसमेत टिकट दिनैपर्ने शर्त हिजोको वार्तामा एमालेसमक्ष राखेको छ ।
तथापि बाेहाेरा क्षेत्र नम्बर ३ मा समेत चुनाव लड्न तयार भएकाे खबर बाहिरिएका छन् । गत सँसदीय निर्वाचनमा राप्रपा र कांग्रेसवीच गठबन्धन हुँदा एमाले उम्मेदवार घनश्याम भुसालले भारी मतसहित बाेहाेरालाई पराजित गरेका थिए । तत्कालिन समयमा बाेहाेरालाई सहयाेग गरेका कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही ३ मा प्रचार कार्यालयसमेत उद्घाटन गरिसकेका छन् । २८ बर्षकाे उमेरमा मन्त्री भएर पन्चायतदेखि गणतन्त्रसम्म राजकीय सत्ता चलाएका बाेहाेराले रुपन्देही १ बाट विगतमा पनि लडेका थिए । त्यहाँ राप्रपाकाे जनआधार बलियाे मानिन्छ । हाल पनि यहाँकाे मधेश बाहुल्य क्षेत्रका ८ वटा वडामा राप्रपाले स्थानीय निर्वाचन जितेकाे छ । धकधईका ताहिर अली र वीरबहादुर केसीकाे बर्चश्व रहेकाे दक्षिणी भेगमा एमाले-राप्रपा गठबन्धनबाट टिकट पाए बाेहाेराले जित्ने निश्चित छ ।
रुपन्देही ३ मा गठबन्धनबाट राप्रपाले टिकट पाए खाँणलाई हराउन फलामकाे चिउरा चपाएसरह हुने देखिन्छ । पार्टी फरक भएता पनि कांग्रेसका खाँण, राप्रपाका बाेहाेरा र एमालेका बिष्णु पाैडेलकाे दाेस्तीकाे कथा पनि बेग्लै छ । यसैले यी तीन जना एक अर्काकाे प्रतिष्पर्धी नहुनेगरी निर्वाचन लड्नेछन् । गत संसदीय निर्वाचनमा रुपन्देही ३ बाट बाेहाेरा उम्मेदवार हुँदा खाँण ब्याक भई समानुपातिकमा बसेका थिए ।
यता एमाले अध्यक्ष ओलीले घनश्याम भुसाललाई टिकट नदिन विभिन्न बहानाबाजी गरिरहेकै छन् । स्थानीय कमिटीले भुसाललाई रुपन्देहीकाे क्षेत्र नम्बर १ र ३ बाट सिफारिश गरेकाे थियाे । ओलीले भीम रावल र घनश्याम भुसाललाई टिकट नदिने बताइसकेका छन् । रावलकाे अछामबाट एकल नाम सिफारिश भएपछि सुदूरपश्चिमको पार्टी नेतृत्वलाई बालकाेट बाेलाएर साताे खाएका ओलीले भुसाललाई राेक्न तिलाेत्तमाका पूर्व मेयर बासु घिमिरेकाे कार्ड फालेका छन् । घिमिरे विगतमा भुसालकाे निकट मानिन्थे । घिमिरेकाे कार्डले भुसाललाई रुपन्देही ३ मा आउट गर्न नसकेकाे अवस्थामा ओली राप्रपा-एमाले गठबन्धन गरी राप्रपाका बाेहाेरालाई टिकट दिने सुरमा छन् ।
उता रुपन्देही १ बाट छवि विश्वकर्माले दावी गरिरहेका छन् । एमाले सचिवसमेत रहेका विश्वकर्मा क्षेत्र नम्बर १ मा टिकट नपाए रुपन्देही ५ वा प्रदेश सभा सदस्य भएर मुख्यमन्त्री बन्ने दाउमा छन् । रुपन्देही ५ मा एमालेका खिमलाल भट्टराईले तयारी गरेका छन् । भट्टराई रास्ट्रिय सभा सदस्य भएकाे र उनकाे कार्यकाल अझै १५ महिना बाँकी रहेकाेले ओलीले उनलाई टिकट दिदा रास्ट्रिय सभामा नाेक्सान हुने स्थिति छ ।
टिप्पणीहरू