अस्पतालको आइसियू तोडफोड, तीन पक्राउ
चितवन मेडिकल कलेज तोडफोड गरेको आरोपमा ११ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । अस्पतालको सघन कक्ष (आइसियू) भित्र पसेर तोडफोड गर्नेहरु विरुद्ध हिजो जाहेरी दर्ता भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डिएसपी) विजयराज पण्डितकाअनुसार जाहेरी दर्ता भएकोमध्ये तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम भइरहेको छ । त्यस्तै, अन्यको खोजी भइरहेको उनले जानकारी दिए ।
चिकित्सकको लापरवाहीले उपचारको क्रममा बिरामीको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा तोडफोड गरेका थिए । गत असोज १७ गते भरतपुर महानगरपालिका– १३ का रमेश कुँवरको उपचारको क्रममा मृत्यु भएको थियो ।
सोही दिन बिहान ग्यास्ट्रिक बढ्यो भन्दै उपचार गराउन मोटरसाइकलमा अस्पताल आएका कुँवरको मृत्यु भएपछि अस्पतालमा एकाएक तनावको अवस्था सिर्जना भएको हो ।
यता, चिकित्सकहरुले कुँवरलाई गम्भीर अवस्थामा अस्पताल ल्याएको बताएका छन् । उनको पाचन प्रणालीमा संक्रमण भएर रगतमा फेलिसकेको र धेरै वटा अंगले काम गर्न छोडिसकेको चिकित्सकहरुको भनाइ छ । मृतकका आफन्तले भने उनको मृत्यु चिकित्सकको लापरवाहीका कारण भएको अडान लिएका छन् ।
तोडफोडबाट लाखौंको क्षति पुगेको बताइएको छ । आइसियू कक्षको झ्यालको सिसा, ढोका, उपचार उपकरणलगायत सामग्रीमा क्षति पुगेको छ ।
नेपाल चिकित्सक संघले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा भएको तोडफोडप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
टिप्पणीहरू