काँग्रेसले नदिएर के भो, खतिवडा र ‘बा’ भएपछि !

काँग्रेसले नदिएर के भो, खतिवडा र ‘बा’ भएपछि !

-राजेशचन्द्र राजभण्डारी

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवार हुने इच्छा राख्दै आएका एक जना बैंकर तथा व्यवसायीले एकैचोटी राजनीतिक ‘यु टर्न’ गरेका छन् ।

बागलुङको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचनमा संघीय संसदको निम्ति उम्मेदवार बन्ने चाहना राख्दै आएका प्रभु ग्रुपका प्रमुख देवी भट्टचनको निम्ति साँच्चिकै प्रभु दाहिना बनेका छन् । यसअघि नेपाली काँग्रेसबाट प्रत्यक्षमा टिकट नपाउने संकेत पाएपछि समानुपातिकको निम्ति पहल गरेको बताइन्छ ।

तर समानुपातिकको उम्मेदवार सूचीमा आफू अनुकूल जनजातिको कोटामा नपारिएपछि उनले अनौपचारिक रुपमा पार्टी नै फेरिदिएका छन् । काँग्रेसलाई धेरै लगानी गरेका भनिएका भट्टचनलाई काँग्रेस नेतृत्वले खेलाएको अनुभूति भएपछि पार्टी परित्यागको घोषणा नगरी नेकपा एमालेको समानुपातिक उम्मेदवार बनेका हुन् ।

एमालेले उनलाई समानुपातिकको बन्द सूचीमा जनजातितर्फको एक नम्बरमा राखिदिएको छ । कुनै संकेत र घोषणा नगरी भट्टचनले काँग्रेस छाडेर एमाले राजेपछि बागुलङको मात्रै नभएर नेपाली राजनीतिक बजारमा उनी चर्चाको शिखरमा पुगेको बताइन्छ ।

गत वर्ष नेपाली काँग्रेसको १४ औं अधिवेशनमा बागलुङ सदरमुकामको चर्चित होटलमा बसेर भट्टचनले नेपाली काँग्रेसका जिल्ला सभापतिका उम्मेदवार जीत शेरचनलाई जिताउन सकेको बल गरेका थिए ।

बागलुङबाट संघीय संसदमा प्रत्यक्षतर्फ निर्वाचनमा प्रतिस्पर्धा गर्ने प्रचार गर्दै आएका उनलाई नेपाली काँग्रेसले गठबन्धनको कारण प्रत्यक्षमा टिकट दिन नसकिने बताएको हो । त्यसपछि समानुपातिकको बन्द सूचीमा एक वा दुई नम्बरमा जनजाति कोटाबाट नाम राख्न गरेको प्रस्ताव पनि नेतृत्वले बेवास्ता गरेको उनी निकटस्थहरुले बताएका छन् ।

काँग्रेसले सबै खालका अनुरोधलाई वास्ता नगरेपछि भट्टचनले एमाले प्रवेश गरेर आफ्नो नाम समानुपातिक सूचीमा राखेका हुन् । यति छिटो र यस्तो सहजता कसरी भयो ? भन्ने जिज्ञासामा देवी निकट एक जनाले भने, ‘यो कामको सहजीकरण पूर्व गभर्नर,योजना आयोगका उपाध्यक्ष, अर्थमन्त्री तथा अमेरिकाका लागि पूर्व राजदूत डा. युवराज खतिवडाले गरेका हुन् । उहाँहरुबीच गभर्नर हुँदा ग्राण्ड बैंक मर्ज गर्दा कायम भएको सबै खालको सम्बन्ध पछिल्लो समय झन् गाढा भएको हो । बालकोटलाई कन्भिन्स गराउनु भएको उहाँले नै हो ।’

टिप्पणीहरू