चुनाव जित्न बागलुङ एमालेले तोक्यो कमाण्डर
-राजेशचन्द्र राजभण्डारीबाट
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पार्टीका सबै उम्मेदवारलाई जिताउन नेकपा एमाले,बागलुङले कमाण्डर तोकेको छ ।
उम्मेदवारलाई प्रतिनिधित्व गर्न एमालेले चुनावी कमाण्डर तोकेको हो । आज बागलुङ सदरमुकाममा पत्रकार भेटघाट गर्दै जिल्लाको ६ सीट नै पार्टीका उम्मेदवारलाई जिताउन निर्वाचन कमाण्डर तोकेको जिल्ला अध्यक्ष हिराबहादुर केसीले बताए ।
साथै, नेकपा एमाले जिल्ला कमिटी सचिवालयको चौथो पूर्ण बैठकले निर्वाचनसम्बन्धी प्रचारप्रसारका लागि मिडिया एक्शन रुमको स्थापना गर्ने भएको छ । पत्रकारहरु रहेको विशेष टिम सञ्चालन गरी निर्वाचनबारे प्रचारप्रसार गर्ने उनले जानकारी दिए ।
त्यस्तै, उनले नेपालमा पजेरो संस्कृति भित्र्याउनेदेखि प्रतिगमनको नायक प्रधानमन्त्री शेरबहादुर देउवा भएको आरोप लगाएका छन् । उनले भने,‘लोकतन्त्र दरबारमा लगेर बुझाउने,आरजु देउवालाई महारानी बनाउने प्रतिगामीका भरिया हुन् ।’
राजनीति अस्थिरताको बाधक बनेको गठबन्धनको प्रतिगमन कसले गर्यो ? भन्ने विषयमा छिनोफानो गर्न जनतामाझ जान लागेको उनको दाबी छ ।
उनले प्रधानमन्त्री देउवालाई अदालतले जन्माएको व्यक्ति भन्दै व्यङ्ग्य हानेका छन् । नागरिकता विधेयकमार्फत नेपाललाई सिक्किमकरण र आर्थिक रुपमा श्रीलंकाकरण गर्न खोजेको भन्दै उनले भेटघाट कार्यक्रममा आक्रोशसमेत पोखेका थिए ।
एमालेले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा डा. सूर्य पाठक,प्रदेश सभा ‘क’ मा हिराबहादुर केसी र ‘ख’ मा नवराज पौडेल तथा क्षेत्र नं. २ मा मञ्जु चालिसे, प्रदेश सभामा ‘क’ मा स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई सहयोग गर्ने र ‘ख’ लक्ष्मण पुनलाई उम्मेदवार बनाएको छ ।
यसैगरी, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को कमाण्डरमा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गोविन्द नेपाली र सोही क्षेत्रको प्रदेश सभा ‘क’ को कमाण्डरमा पार्टीका गण्डकी प्रदेश कमिटीका सदस्य बाबुराम नेपाली र ‘ख’ को कमाण्डर देवकुमार नेपालीलाई तोकेको छ ।
बैठकले पार्टीभित्रको सुदृढ एकता, विपक्षभित्रको अन्तरकलह र एमालेप्रतिको जनताको आकर्षणका कारण जिल्लाका सबै सीट एमाले जित्ने निश्कर्ष निकालेको छ । त्यसका लागि ६ वटै क्षेत्रमा सहकमाण्डर पनि तोकिएको छ ।
एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रचार विभागका प्रमुख चन्द्रप्रकाश शर्मा (गणेश) ले गरेका थिए ।
टिप्पणीहरू