म्यानपावर कम्पनीलाई विभागको कडा चेतावनी
मलेसिया तथा खाडी मुलुक जाने कामदारसंग अनावश्यक शुल्क लिएको पाइएपछि वैदेशिक रोजगार विभागले सचेत गराएको छ ।
म्यानपावर कम्पनीहरुले विभिन्न बहाना बनाएर शुल्क असुल्ने गरेको उल्लेख गर्दै विभागले ध्यानाकर्षण भएको जनाएको हो ।
वैदेशिक रोजगारका लागि खुला गरिएका श्रम गन्तव्यका मुलुकमध्ये मलेसिया तथा खाडी मुलुक जाने कामदारबाट विज्ञापनमा उल्लेखित शर्तविपरीत रकम असुल गरिएको भन्दै विभागले कडा कारबाहीको चेतावनी दिएको छ ।
म्यानपावरहरुले निःशुल्क भीसा, हवाई टिकट र स्वास्थ्य परीक्षण गर्न कुनै प्रकारको सेवाशुल्क नलाग्ने भनेर विज्ञापन गरेपनि कार्यान्वयन नगरेको विभागले जनाएको छ ।
भनेको छ,‘निःशुल्क भीसा, निःशुल्क हवाई टिकट, निःशुल्क स्वास्थ्य परीक्षण तथा कुनै प्रकारका सेवाशुल्क नलाग्ने शुन्य लागतमा कामदार छनौट गरिने विवरण खुलाई विज्ञापन गरेता कामदारहरुबाट रकम असुल गर्ने, निष्पक्ष रुपमा कामदार छनौट नगरेको भनि विभिन्न सञ्चारमाध्यमबाट प्रकाशन र प्रशारण भएका सूचनाप्रति यस विभागको ध्यानाकर्षण भएको छ ।’
साथै, विभागले पूर्व स्वीकृति लिइ कामदार छनोटका लागि प्रकाशित गरिएको सूचनामा उल्लेखित शर्तहरुका आधारमा कामदार छनोट गर्न निर्देशन दिएको छ ।
पक्षपात गरेर कामदार छनोट गरेको पाइएमा वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।
टिप्पणीहरू