एकीकृत समाजवादीको कुरो मिलेपछि ताप्लेजुङमा एमालेलाई अप्ठेरो
-कमल भट्टराई
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा सत्ता गठबन्धनका दलमध्ये नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादीको संयुक्त मोर्चा बनेको छ । उक्त मोर्चासँग प्रतिस्पर्धा गर्न नेकपा एमाले कम्मर कसेर लागेको छ ।
हिजो चुनाव चिन्ह लिएपछि गठबन्धन थप बलियो भएको संकेत मिलेको सत्ता पक्षको दाबी छ । गत आइतबार उम्मेदवारी मनोनयन गर्ने समयसम्म एकीकृत समाजवादीमा उम्मेदवारबारे विवाद रहेको त्यतिबेलै उक्त पार्टीका एक जना जिल्ला सदस्यले बताएका थिए ।
एकीकृत समाजवादीको पोलिटब्युरो सदस्य भाष्कर काफ्लेले केन्द्रले आफूलाई टिकट दिएको, आफ्नै नाममा निर्णय भएकाले अरुलाई टिकट दिन नसकिने अडान लिएपछि गत आइतबार जिल्ला कमिटीसँग उनको तिक्तता बढेको बताइन्छ । जिल्ला कमिटीले प्रदेश र केन्द्रीय कमिटीसँंग यथार्थ जानकारी गराएपछि उक्त दिन साढे ४ बजेपछि मात्र पत्रसहित राजधानीबाट टिकट मगाएर उम्मेदवारी दिइएको पनि उनै सदस्यले उल्लेख गरेका हुन् ।
एकीकृत समाजवादीमा टिकट विवाद बढेको सुईंको पाएपछि नेपाली काँग्रेसका उम्मेदवारले गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए । तर हिजो अन्तिम समयमा नेपाली काँग्रेसबाट उम्मेदवारी मनोनयन गरेका गजेन्द्र तुम्याङ र नेपाली काँग्रेसका स्वतन्त्र उम्मेदवार टीकाराम गुरुङले नाम फिर्ता लिएपछि अवस्था सहज बनेको उनीहरुको बुझाइ छ ।
अब गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री र एमालेका योगेशकुमार भट्टराईबीच रोचक प्रतिस्पर्धा हुनेछ । प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर ‘क’ मा एकीकृत समाजवादीका खेमबहादुर वनेम र एमालेका तीलकुमार मेन्याङ्बो तथा ‘ख’ मा काँग्रेसका खगेन सिंह हाङगाम र एमालेका गोपाल थोप्राबीच कडा प्रतिस्पर्धा हुने वातावरण बनेको बताइन्छ ।
टिप्पणीहरू