भोलि हुने बुङमती महोत्सवको तयारी पूरा

भोलि हुने बुङमती महोत्सवको तयारी पूरा

मौलिक कला, संस्कृति संरक्षणको निम्ति भोलि बुङमतीमा ‘बुङ् महोत्सव’ आयोजना गरिँदै छ । बुङमतीकोे सांस्कृतिक सम्पदा र संस्कृतिको जर्गना गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एक दिने महोत्सव गर्न लागिएको ‘इकोज इन द भ्याली’ ले जानकारी दिएको छ ।

संस्थाका सहसंस्थापक भूषण शिल्पकारका अनुसार युरोपियन युनियनको सहयोगमा स्वीच एसिया कार्यक्रमअन्तर्गत युएन ह्याबिट्याट, लुमन्ती, सिआईयुडी, आईएचएस सभामार्फत सञ्चालित पर्यावरण–सम्पदा परियोजनाअन्तर्गत इकोज इन द भ्याली’ को सहकार्यमा उक्त महोत्सव हुन लागिएको हो ।

भोलि बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म हुने महोत्सवमा बुङमतीको परम्परागत मौलिक कला तथा संस्कृतिको प्रदर्शनी गरिने बताइएको छ । महोत्सवमा हस्तकला, काष्ठकलाको प्रदर्शनी, नेवारी खाना, पाककला, वास्तुकलाको प्रदर्शन, नेवारी तथा रञ्जना लिपि लेखन, परम्परागत खेल, बालबालिकका निम्ति कथा, लेख, रचना लेखन तथा वाचन एवम् मनोरञ्जनात्मक प्रस्तुती हुनेछन् ।

महोत्सवमा ‘हेरिटेज वाक’ पनि सञ्चालन हुने आयोजकले जनाएको छ । स्थानीय गाइडमार्फत बुङ्मतीको निःशुल्क भ्रमण गराइनेछ ।भ्रमणमा सहभागी हुन आयोजकले खुल्ला गरेको अनलाइनमार्फत् नाम दर्ता गराउनुपर्ने आयोजक समूहका सदस्य प्रवीण बज्राचार्याले जानकारी दिए । भ्रमणका लागि हालसम्म ११ सयभन्दा बढीले नाम दर्ता गराइसकेका छन् । एक जना गाइडले ३० जनालाई डेढ घण्टासम्म बुङमतीको भ्रमण गराइने बज्राचार्याले बताए ।

पाँच हजारभन्दा बढीले महोत्सवको अवलोकन गर्ने आयोजकले आकलन गरेको छ ।

टिप्पणीहरू