गोरखा, प्रचण्ड र केही आशा, केही निराशा

गोरखा, प्रचण्ड र केही आशा, केही निराशा

– दीपक खनाल

समग्रमा देशकै राजनीति लयमा छैन । तैपनि संघीय लोकतान्त्रिक गणतन्त्रको आवरणमा सिद्धान्तहीन लाजनीति चलिरहेकै छ । एकातिर सत्ता स्वार्थका नाममा जो जस्तो सिद्धान्त वा विचार बोकेको पार्टीसँग मिल्नैपर्ने अवस्था छ । यतिसम्म कि समयले प्रगतिशील र पुरातनवादी शक्तिबीच समेत चुनावी गठबन्धन हुनैपर्ने स्थिति ल्याइदिएको छ । सिंगल भिड्न तयार नेकपा एमाले कुण्डले, मण्डले समूहसँग गठजोड गर्न बाध्य भएको छ ।

यतिबेला मुलुकमा स्पष्टतः नेपाली काँग्रेससहित र नेकपा (एमाले) सहितको दुइटा गठबन्धन निर्माण भएको छ । आगामी मंसिर ४ गते संघीय प्रतिनिधिसभा र प्रदेशसभाका लागि हुने निर्वाचनको गरमागरम वातावरणले यी गठबन्धनहरू प्रष्ट रूपमा खुल्न हतारिएका छन् । टिकट बाँडफाँडले नेताहरूको निरंकुश चरित्र स्पष्ट रूपमा उजागर गरेको छ भने सबै पार्टीका नेता, कार्यकर्तामा असन्तुष्टि, किचलो बढेको छ । यस्तै कतिपयले पार्टीबाट विद्रोह गरेको सम्मका नाटक र नौटंकी गरिरहेका छन् ।

विगतदेखि नै विभिन्न कारणले चर्चित गोरखा जिल्ला केन्द्रीय राजनीतिको यही मेसोमा फेरि चर्चित भएको छ । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा जिल्लाको क्षेत्र २ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएपछि राजनीतिक ध्यान गोरखातिर तानिएको हो । झण्डै ६ महिनाअघि सम्पन्न स्थानीय निर्वाचनको इपी सेन्टर चितवनको भरतपुर बनेजस्तै अब संघीय निर्वाचनको केन्द्र गोरखा हुने पक्कापक्की छ ।

त्यो भन्दाअघि प्रचण्डले चितवनबाट नै लड्ने सार्वजनिक गर्दै साइत पारेर घरपैँचो गर्नुभएको थियो । उहाँ एक्कासी चितवन छाडेर गोरखा हान्निएकोमा मेयर छोरी रेणुलगायत शुभचिन्तकहरू त्यति खुशी छैनन् । यद्यपि प्रचण्डको गोरखा प्रवेश आकस्मिक जस्तो लागेर धेरैले आश्चर्य प्रकट गरे पनि उहाँलाई गोरखाबाट उठ्न कार्यकर्ताले केही महिना पहिलेदेखि नै आग्रह गरिरहेका थिए । प्रचण्डको मन र हातमा अन्तिम दाउ वा तुरूप गोरखा नै थियो । तैपनि प्रचण्डले गोरखामा उम्मेदवारी दिएको विषयलाई विभिन्न कोणबाट टीका, टिप्पणी, विश्लेषण गरिएको छ ।

आजसम्मको चेस खेलमा प्रचण्डका घोडा, हात्ती, मन्त्री, रानी, केही प्युसा अर्को पक्षको राजनीतिक खेलाडीले खाइसकेका छन् ।

प्रचण्डको गोरखा आगमनलाई खासगरी दुई कोणबाट विश्लेषण गर्न सकिन्छ । पहिलो कोणबाट विश्लेषण गर्दा प्रचण्डले पूर्ण सुरक्षित हुनकै लागि रोज्नुभएको हो गोरखा । त्यो पनि क्षेत्र नं २ नै । किनकि ०७४ को निर्वाचनमा मत चपाएर चितवनबाट जितेको आरोप लागेका प्रचण्डलाई गोरखाबाट भारी मत ल्याएर जितेको सन्देश देश, विदेशमा दिनु खछ । चितवनबाट नै पुनः उठ्दा निश्चित नै जितिने सम्भावना कम देखियो । फेरि खुला राजनीतिक मैदानमा आएपछि प्रत्येक निर्वाचनमा ठाउँ परिवर्तन गर्ने प्रचण्डको विशेषता नै बनेको छ । पहिलोपटक उठेको काठमाडौँमा पुनः उठ्दा नजितेको इतिहास उहाँले भुल्नुभएको छैन । चेस खेलमा चेकमा परेपछि राजालाई कोठा सारिरहनुपरेजस्तै भएको हो सायद प्रचण्डलाई ।

पटक पटक देशी, विदेशी चेस खेलाडीको चेक पाइसकेका प्रचण्ड सामन्ती राजा नभए पनि माया गरेर भन्दा माओवादीको राजा नै हुनुहुन्छ । राजनीतिको चेस खेल अहिले पनि चलिरहेको छ र प्रचण्डमाथि घरी घरी चेक भइरहेको छ । भइरहने छ । यसैको लागि पूर्ण सुरक्षित ठाउँ खोज्नुभएको हो उहाँले । किनभने, आजसम्मको चेस खेलमा प्रचण्डका घोडा, हात्ती, मन्त्री, रानी, केही प्युसा अर्को पक्षको राजनीतिक खेलाडीले खाइसकेका छन् । यतिमात्र कहाँ हो र ! यतिसम्म कि स्वयम् प्रचण्डलाई कभर दिएका चेस बोर्डका प्युसाप्रति समेत प्रचण्ड आफैँलाई पूर्ण विश्वास छैन । उहाँले प्रभाकरहरूरूपी घोडा, हात्ती र प्युसाहरुबाटै आफूमाथि प्रहार हुन थालेको अनुसंकेत पाइसक्नुभएको छ । त्यसैले यो कोणबाट हेर्दा प्रचण्ड एकदमै सुरक्षित हुनका लागि चेसको बोर्डको कोठारूपी गोरखामा आउनुभएको हो, काठमाडौँ, सिरहा, चितवनरूपी कोठामा चले, सरेजस्तै ।

अर्को कोणबाट हेर्दा प्रचण्डलाई भाषण गर्न सजिलो र बाहिर देखाउन पनि मिल्ने विषय हो कि गठबन्धनको अन्तरविरोध मिलाउन उहाँ गोरखा आउनुको विकल्प थिएन । नत्र २ नम्बर क्षेत्रमा मुख मिठ्याउने नेताहरू धेरै थिए । बाहिर प्रत्यक्ष चुनाव नलड्ने बताए पनि डा. बाबुराम भट्टराई पाउने भए पुनः चुनाव लड्न नै चाहनुहुन्थ्यो । बौद्धिक चातु¥याइँ भएका उहाँले नपाउने भएपछि पहिले नै लड्दिनँ भन्दिनुभयो । अर्काेतिर उहाँलाई छोरी मानुषीसहित आफूसँग रहेका केही सक्रिय कार्यकर्तालाई स्थापित गराउन माओवादीसँग मिल्नैपर्ने बाध्यता थियो । स्थानीय तहमा माओवादीसँग नमिल्दा गोरखाकै पालुङटार नगरपालिकाको विजयनिकट पुगेको मेयर पद र केही वडा अध्यक्ष गुमाएको बिर्सनुभएको थिएन । बाबुरामले नलड्ने भएपछि नारायणकाजी श्रेष्ठले हात उठाउनु अस्वाभाविक होइन । तर नारायणकाजीले पाउने सम्भावना भएको भए आफूहरूलाई काजीभन्दा उपाध्याय माओवादी ठान्ने हितराज पाण्डे र चुडामणि खड्काले छोड्ने स्थिति थिएन ।

किनकि पाण्डेलाई छोरीलाई पालुङटार नगरपालिकाको उपमेयर बनाएर मात्रै चित्त बुझेको थिएन भने खड्का अझै प्रत्यक्ष सांसद् बनेर आफू प्रचण्डले तानिदिएको भरमा मात्रै राजनीतिमा उदाएको होइन भन्ने देखाउन चाहनुहुन्थ्यो । नेतृत्वको खुला रूपमा खरो आलोचना गर्ने, नेतृत्व र पार्टीलाई अझै पनि मालेमावादको आलोकमा हिँडाउन सकिन्छ र हिँडाउनुपर्छ भनी जोड गर्दै आएका लेखनाथ न्यौपानेहरूले टेम्पो र सार्वजनिक गाडीको बाहेक पार्टीको चुनावी टिकट पाउनु त परकै कुरा हो र थियो, त्यसैले लेखनाथ मैदानमै नउत्रेपछि तानातान हितराज र चुडाबीचमै हुने थियो । यो तानातानमा गुट उही भए पनि प्रचण्डसँग पारिवारिक र पार्टी दुवै नाता भएका चुडामणिले टिकट हत्याउन सक्ने अवस्था थियो । गठबन्धन भएकाले अन्तरविरोध नेपाली कांग्रेससँग पनि बढ्ने थियो । अघिल्लोपटक पनि बाबुरामलाई छाडेका कांग्रेसका नेता सुरेन्द्र पाण्डेले प्रचण्डबाहेक अरू नेतालाई छाड्ने अवस्था थिएन । यही भएर प्रचण्ड गोरखा आउनुभएको हो ।

यसरी जनयुद्धको पूर्वसन्ध्यामा गोरखामा सैन्य तालिम लिएको, जनयुद्धको पहिलो दिनको कारबाही रेड गोरखाबाट पनि भएको, गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादीको लाल विजय भएको र एकपटक फेरि प्रधानमन्त्री हुन चाहेका भावुक प्रकृतिका प्रचण्डले लालकिल्लाबाट विजयी भएको सन्देश विश्वलाई दिन गोरखा नै रोज्नुभएको हो । संसदीय राजनीतिक निर्वाचनको भासमा पसिसकेपछि प्रचण्ड मात्रै होइन, जुनसुकै नेताले खेल बाँकी रहुञ्जेल सुरक्षित स्थान खोज्दै हिँड्नु अन्यथा होइन । यो संसदीय राजनीतिक खेलकै विकृत पक्षसमेत हो ।

तर प्रचण्ड मात्रै होइन, यो यो काम गर्छु भनेर भाषण गर्ने र केही नगर्ने शैली जुनसुकै नेताको भए पनि त्यो जनता र मतदाताप्रतिको अपमान नै हो । नेताले आफूले गरेका प्रतिबद्धता पूरा गरें कि गरिन भनेर आफैँतिर फर्केर हेर्न सकेमात्र ऊ सधैँ जनता, मतदाताको मन, मुटुमा रहिरहन सक्छ । गोरखाली जनता र मतदाताले पनि प्रचण्डबाट यही र यस्तै आशा गरेका छन् । उहाँ गोरखाबाट जितेर मुलुकको प्रधानमन्त्री हुने दिन आए पनि नआए पनि गोरखाको सबै क्षेत्र र त्यहाँका जनताको प्रगति, समृद्धि र विकासमा ध्यान दिनुहुनेछ, पहलकदमी लिनुहुनेछ भन्ने आशा र विश्वास लिएका छन् । गोरखाका धेरै स्थानीय तहमा जितेका आफ्ना नेता, कार्यकर्तालाई गलत बाटोतिर नलागी सही काम गर्न संरक्षकत्वसहित निर्देशन दिनुपर्छ भन्ने चाहेका छन् ।

– पालुङटार, नपा, ९, गोरखा

टिप्पणीहरू