नेपाली सेना उद्दार तथा राहत सामग्री वितरणमा केन्द्रित
अघिल्लो र यो साताको अविरल वर्षाका कारण मुलुकका बाढीपहिरो प्रभावित क्षेत्रमा उद्वार तथा राहत वितरणमा नेपाली सेना सक्रिय भएको छ ।
बाढीपहिरोबाट प्रभावित सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पा जिल्लाका विभिन्न स्थानमा नेपाली सेनाको टोलीले खोज तथा उद्दार, राहत सामग्री ढुवानीलगायत वितरण कार्य गरिरहेको बताइएको छ ।
जुम्ला, हुम्ला, कालिकोट तथा मुगुका अति विकट स्थान राजचुली, ताजकोट, सर्कीघाट, छाँयानाथ, कन्कासुन्दरीलगायत स्थानमा पहिरोमा फसेका ११ जनाको सेनाले हवाइ उडानबाट उद्धार गरेको छ ।
त्यसैगरी सडक सञ्जालबाट विकट स्थानमा रहेका तर सीमित कच्ची सडकहरु समेत पहिरोका कारण अवरुद्ध भएकाले सेनाले हवाई उडानमा १४ हजार ७३५ किलो राहत सामग्री ती स्थानमा ढुवानी गरी पहिरो प्रभावित नागरिकलाई वितरण गरेको जनाइएको छ ।
अवरुद्ध सडकहरु खुलाउने तथा हवाई उडानबाट थप राहत सामग्री ती क्षेत्रमा ढुवानीको कार्य नेपाली सेनाले जारी राखेको जानकारी दिइएको छ ।
टिप्पणीहरू