लाखौंका अवैध पटका बरामद गर्दै, खाल्डोमा पुर्दै

लाखौंका अवैध पटका बरामद गर्दै, खाल्डोमा पुर्दै

भारतबाट ल्याइएका ठूलो परिमाणको अवैध पटका सीमा क्षेत्रमा फेला पर्न थालेको छ । तिहारमा पड्काउन लुकिछिपी नेपाल भित्र्याउन खोजिएका त्यस्ता पटका झापा, सुनसरी र महोत्तरीमा फेला परेको छ ।

सशस्त्र प्रहरी बलले झण्डै आठ लाख मूल्य बराबरको अवैध पटका ती जिल्लाबाट बरामद गरेको प्रहरीले जनाएको छ ।

तिहार, छठलगायत पर्वलाई लक्षित गरेर नेपाल भित्र्याइएका अवैध पटका सशस्त्रले नियन्त्रणमा लिएको हो । पटका ओसारपसारमा संलग्नहरू भने फरार छन् ।

बोरामा प्याक गरेर ल्याइएका विभिन्न प्रकारका १० बोरा पटका झापाको झापा गाउँपालिका–१ बाट बरामद भएको छ । सशस्त्र प्रहरी निरीक्षक विभूराज दाहालको नेतृत्वमा खटिएको टोलीले सात लाख ५० हजार मूल्य बराबरको पटका बरामद गरेको हो ।

त्यस्तै सशस्त्र प्रहरीले सुनसरीको हरिनगरा गाउँपालिका–१ मा पनि पटका बरामद गरेको छ । सशस्त्र प्रहरी बल भुटाहाबाट खटिएको प्रहरी निरीक्षक भूपेन्द्रकाजी निरौला नेतृत्वको टोलीले ३५ हजार मूल्य बराबरको पटका बरामद गरेको जनाइएको छ । बरामद पटका नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयको रोहबरमा नष्ट गरिएको छ ।

उता महोत्तरीमा पनि त्यस्तो पटाका समातिएको छ । मटिहानी नगरपालिका ९ स्थित हनुमान चोकमा भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको अन्दाजी ६७ हजार बराबरका दुई कार्टुन पटका सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गण हेड क्वार्टर महोत्तरीबाट खटिएको सशस्त्र प्रहरी हवल्दार जनकबहादुर कठायत नेतृत्वको टोलीले नियन्त्रणमा लिएको हो ।

आजै महोत्तरीको सम्सी गाउँपालिका ६ स्थित सम्सी चोकमा सशस्त्र प्रहरी बल, नेपाल बिओपी सम्सीबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक जयराम बस्नेतको मोबाइल टोलीले ५५ हजार ८७० रुपैयाँ बराबरका दुई कार्टुन पटका बरामद गरेको छ । एक लाख २२ हजार ८७० रुपैयाँ पटाका आजै उक्त गणको परिसरमा स्थानीय र पत्रकारहरुको रोहबरमा खाल्डोमा सुरक्षित साथ नष्ट गरिएको जनाइएको छ ।

टिप्पणीहरू