सहरी विकासमन्त्रीद्वारा १३ लाखको खाद्य सहयोग
सहरी विकासमन्त्री मेटमणि चौधरीले दाङको देउखुरीका बाढी पीडितलाई खाद्यान्न सहयोग गर्नुभएको छ । मन्त्री चौधरीले देउखुरीमा झण्डै १३ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गर्नुभएको हो ।
डुबान क्षेत्रको अवलोकनपछि जनतालाई पहिलो चरणको सहयोग पुर्याउने उद्देश्यले हिजो देउखुरीका राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विण्टलका दरले चामल उपलब्ध गराइएको मन्त्री चौधरीले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘यो २०१८ साल पछिकै ठूलो बाढी हो । यसले निकै ठूलो क्षती पुर्याएको छ । थोरै भए पनि जनतालाई सहयोग होस् भन्ने चाहेको छु । यो पालिका प्रमुखमार्फत् एकद्वार प्रणालीबाट वितरण हुनेछ ।’
दुःखमा परेका जनतालाई राज्य तथा स्थानीय सरकार छ भन्ने महसुस गराउन आग्रह गर्दै मन्त्री चौधरीले क्षतिको विवरण संकलनपछि स्थानीय, प्रदेश र संघीय सरकारबाट पर्याप्त राहत उपलब्ध गराइने वचन दिनुभएको छ ।
टिप्पणीहरू