गुरुको निधनसङ्गै बृद्ध चेलो बेइजिङमा चिन्तित
वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको खबरलगत्तै चिनियाँ चेलो शोकमग्न भएका छन् । चिनियाँ नागरिक सु हाओले सामाजिक सञ्जालमा फोटो र सन्देश पोष्ट गर्दै महागुरु सत्यमोहन जोशी सँधै आफ्नो मनमा बाँचिरहने उल्लेख गरेका छन् ।
चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा चार दशकको सेवापछि अवकाशको जीवन बिताइरहेका र सात दशक उमेर पार गरेका सु हाओले तीन वर्षअघि काठमाडौं आउँदा जोशीसँग उहाँकै घरमा खिचेको फोटो राखेका छन् । उनी लेख्छन्, ‘३ वर्षअघि गुरुको घरमा । तर ३ वर्षपछि मात्र…।’
सन् ६० को दशकमा सुहाओलगायत एक दर्जन चिनियाँलाई जोशीले बेइजिङ पुगेर नेपाली भाषा सिकाउनुभएको थियो । उहाँले धेरै जना चिनियाँको नेपाली नाम समेत राखिदिनुभएको थियो । सुहाओ आफूलाई नेपालीमा मुकुन्द भन्न रुचाउँछन् । उनै मुकुन्दले स्वर्गीय जोशीको निधनपछि नेपालीमा लेखेका छन्,‘आदरणीय महागुरु सत्यमोहन जोशी सदासर्वदा मेरो मनमा बाँचिरहनुभएको छ !’
टिप्पणीहरू