मोदीको नारा किन कपीपेस्ट गर्न परेको एमालेलाई ?
राजा फर्काउने अभियानमा रहेका पूर्वपञ्चहरुको पार्टी राप्रपाबाट हामफालेर केही वर्ष अघिमात्रै एमालेमा प्रवेश गरी राष्ट्रियसभा सांसद बन्न सफल पूर्व रेडियोकर्मी तथा गायिका कोमल वली मङ्सिर ४ को निर्वाचनका लागि दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभातर्फ उम्मेदवार छिन् । वामपन्थी आन्दोलनमा लागेर कपाल फुलाएका दर्जनौँ पुराना नेतालाई जिल्याउँदै राष्ट्रियसभामा पुगेकी उनलाई एमालेले यसपटक प्रत्यक्ष निर्वाचनमा भिडाउन लागेको हो । असोज २३ गते दलबलसहित उम्मेदवारी मनोनयन गराएकी वली यतिबेला भोट माग्न व्यस्त छिन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई खुशी तुल्याएवापत राजनीतिमा एकपछि अर्को सफलताको स्वाद चाखिरहेकी वली आफूलाई ‘स्मार्ट’ राजनीतिकर्मी ठान्छिन् । राष्ट्रियसभाका बैठकहरुमा आइप्याड हातमा लिएर समाचार वाचनकै शैलीमा भाषण गर्थिन् । उनै वलीले चुनाव प्रचार प्रसारमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा नारा नक्कल गरेको पाइएको छ । भारतीय लोकसभा चुनावका दौरान मोदीले अघि सारेको नारालाई जस्ताको त्यस्तै नेपालीमा अनुवाद गरेर वलीले प्रचारमा ल्याएपछि उनको आलोचना पनि भएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भाइरल बनाएको उक्त ब्यानरमा वलीसहित एमालेका दाङ-३ प्रदेशसभातर्फका दुवै उम्मेदवारको फोटो छ । फोटोसँगै लेखिएको छ, ‘जनता भन्छन्- अति नै भयो महंगीको मार, चाहिने नै भयो एमालेको सरकार’ ! आकर्षक देखिने त्यो ब्यानरको एउटा कुनामा एमालेको सूर्य चिन्ह राखिएको छ भने त्यसैको पुछारमा मङ्सिर ४ गते सूर्यलाई भोट हाल्ने दिन लेखिएको छ ।
तर,यही नारा भारतका प्रधानमन्त्री मोदीले पहिले नै ल्याएका थिए । मोदीको ब्यानरमा उनको फोटोसहित ‘बहुत हुइ देशमें महंगाइकी मार, अबकी बार मोदी सरकार !’ लेखिएको छ ।
टिप्पणीहरू