घरदैलोमा भतेर खाने र नाचगान गर्नेविरुद्ध उजुरीको चाङ,आयोग भन्छ -एकचोटीलाई ‘ओके’,दोहोरिए छोड्दैनौँ
निर्वाचन आयोगले प्रचारप्रचारका क्रममा जथाभावी क्रियाकलाप नगर्न उम्मेदवारहरुलाई पुन: सचेत गराएको छ । उम्मेदवारहरुले आचारसंहिता मिचेर चुनाव प्रचार गरेको मौखिक तथा लिखित उजुरी र गुनासो पर्न थालेपछि आयोगले उनीहरुलाई सचेत गराएको हो ।
उम्मेदवारहरुले आचारसंहिता उल्लंघन गरेको भन्दै दिनहुँ दर्जनौं उजुरी आउने गरेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । घरदैलो कार्यक्रम गर्ने क्रममा बाजागाजा बजाएर नाचगान गरेको, भोजभतेर खुवाएकोजस्ता विषयमा उजुरी परेको उनले जानकारी दिए ।
आयोगले यसबारे सूक्ष्म अध्ययन गरिरहेको निर्वाचन आयुक्त भण्डारी बताउँछन् । त्यस्तै, २५ जनाभन्दा बढी प्रचारप्रसार कार्यक्रममा संलग्न हुन नपाउने प्रावधान भएपनि उम्मेदवारले अटेर गरेको उनको भनाइ छ । आचारसंहिताको सीमा मिचेर घरदैलो कार्यक्रम गर्नेको विरोधमा कठोर निर्णय लिने उनले चेतावनी दिए ।
अहिले दैनिक दर्जनौं उम्मेदवारलाई स्पष्टीकरण सोधिरहेको आयोगले जनाएको छ । एक पटक आफ्नो कुरा राख्न दिने प्रयोजनका लागि स्पष्टीकरण सोधेको उल्लेख गर्दै आयोगले भनेको छ,‘त्यसपछि पनि कसैले आचारसंहिता उल्लङ्घन गरेमा मनोनयन पत्रसमेत खारेज हुन सक्छ । आचारसंहिता कार्यान्वयन गर्ने सवालमा आयोगले कुनै पनि कसर बाँकी राख्दैन । बरु, निर्दयी भएर कारबाही गर्छ ।’
कात्तिक १८ गतेपछि मात्र तोकिएको स्थानमा कोणसभा,आमसभा, गोष्ठी, सेमिनारलगायतका समारोह गर्न मिल्ने आयोगले जनाएको छ । त्यसअघि त्यस्ता कार्यक्रम गरेको पाइएमा कानूनअनुसार कारबाही गर्ने कडा चेतावनी दिइएको छ ।
टिप्पणीहरू